देश

आन्तरिक राजस्व कार्यालय विराटनगरमा राजस्व संकलनमा कमी

विराटनगर, मंसिर १८–आन्तरिक राजश्व कार्यालयको तथ्याङ अनुसार राजस्व संकलनमा कमी आएको छ । चालु आर्थिक वर्षको पहिलो २ महिनामा १ अर्ब ९८ करोड १९ लाख ५६ हजार रूपैयाँ राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा ७६ करोड ६४ लाख ४८ हजार रूपैयाँ कम हो । सो अवधिका लागि कार्यालयलाई २ अर्ब ७४ करोड ८४ लाख ४ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य तोकिएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।

अन्तःशुल्क घटेकै कारणले लक्ष्य अनुसारको राजश्व सङ्कलन नभएको उनले बताए । यसैगरी अन्तःशुल्कतर्फ १ अर्ब ४४ करोड १४ लाख ५७ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य तोकिएकोमा सो अवधिमा ६१ करोड ४८ लाख ७४ हजार रुपैयाँ मात्र सङ्कलन भएको कार्यालयले जनाएको छ । विकास निर्माणको काम ढिलो गतिले हुनु, जग्गाको कारोबार नहुनु र मादकपदार्थको बिक्रीमा पनि कमी आउनुजस्ता कारणले राजस्व असुली कम भएको प्रमुख सापकोटाको भनाइ छ ।

सो अवधिमा आयकरतर्फ ७५ करोड ८४ लाख २८ हजार रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ ६० करोड ८३ लाख ८८ हजार रुपैयाँ, अन्तःशुल्कतर्फ ६१ करोड ४८ लाख ७४ हजार रुपैयाँ, स्वास्थ्यसेवा करतर्फ ५२ हजार तथा शिक्षा करतर्फ २ लाख १४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ ।

लक्ष्यको तुलनामा आयकरतर्फ १ सय ६ दशमलव ४१ प्रतिशत र मूल्यअभिवृद्धि करतर्फ १ सय ३ दशमलव ३९ प्रतिशत बढी राजस्व सङ्कलन भएको तर अन्तःशुल्कतर्फ लक्ष्यको तुलनामा ४२ दशमलव ६६ प्रतिशत मात्र राजस्व सङ्कलन हुनुले समग्र राजस्व सङ्कलनमा कमी आएको प्रमुख सापकोटाले बताए । कार्यालयसँग आवद्ध भएका १ लाख ४३ हजार करदातामध्ये व्यापारिक उद्देश्यका करदाता ६१ हजार रहेका छन् ।

Featured