देश

फोन गर्न दुई घण्टा हिँडेर डाँडामा

डडेलधुरा, मंसिर १८–सहरबजारमा थ्री जी र फारजी इन्टरनेट सेवा चलिरहेका बेला ग्रामीण बस्तीमा भने अझै एक कल फोनका लागि डाँडाकाँडा धाउनुपर्ने बाध्यता छ । कर्णाली तथा सुदूरपश्चिमका अधिकांश जिल्लाका नागरिकले सहज रूपमा टेलिफोन सेवाको उपभोग गर्न पनि पाएका छैनन् । सुदरपश्चिमको डडेलधुरामा पर्ने परशुराम नगरपालिकाका स्थानीय एक कल फोनका लागि दुई घण्टा पैदल हिँडेर गाउँमाथिको डाँडामा पुग्छन् । दिउँसो होस् वा मध्यराति, आफन्तसँग कुराकानी गर्नुपर्ने उनीहरूलाई डाँडामा पुग्नुको विकल्प छैन ।

आफन्तको खबर बुझ्न र घरको कुरा जानकारी गराउनका लागि परशुराम नगरपालिकाका तीनवटा वडावासी दैनिक दुई घण्टा हिँडेर डाँडा जाने गरेको परशुराम नगरपालिका–८ का धनबहादुर जाग्रीले बताए । उनले भने, ‘यहाँका सबैको बाध्यता यही नै हो, आफन्तसँग कुरा गर्न वा कुनै खबर बुझ्नुपरे उकालो हिँड्नुको विकल्प छैन ।’ डडेलधुरा जिल्लाको भित्री मधेश क्षेत्रमा रहेको परशुराम नगरपालिका–८ मा पर्ने करेनी, जमरेनी र काँफलगैराका स्थानीयवासीले फोन गर्नकै लागि घरबाट दुई घण्टा पैदल हिँडेरमाथि डाँडामा पुग्ने गरेको जाग्रीले बताए ।

त्यही पनि घाम लागेको बेलामात्र स्काई नेटवर्कले काम गर्ने हुँदा डाँडामा पुगेको सार्थक हुन्छ । बादल लाग्दा वा पानी परेका समयमा भने उनीहरू टेलिफोन सेवाबाट वञ्चित नै हुन्छन् । ‘नमस्ते र एनसेलको त भरै हुँदैन’ उनले थपे । टेलिफोन नभएकै कारण अत्यावश्यक पर्दा अस्पताल र प्रहरीचौकीसँग पनि सम्पर्क साँध्न पाउँदैनन् । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला पनि हो डडेलधुरा । देउवाको जिल्ला भएकाले धेरैको सोचाइमा विकसित जिल्लाका रूपमा लिइन्छ ।

तर जिल्लाभित्रकै आधालजति नागरिक सञ्चार सुविधाबाटै वञ्चित छन् । नगरपालिका भए पनि नगरपालिकाभित्र हुनुपर्ने आधारभूत संरचना, सुविधा परशुराम नगरपालिकामा उपलब्ध छैनन् । डडेल्धुराकै आलिताल गाउँपालिका–२ गांखेतमा पनि स्काइबाहेक कुनै फोेन नेटवर्क टिप्दैन । त्यो पनि बेलुकी ४ बजेपछि अवरुद्ध हुने गरेको आलिताल गाउँपालिका–२ का स्थानीय पदमबहादुर विकले बताए । यस्तै आलिताल गाउँपालिका–३ भित्रीसैनमा त कुनै पनि फोन सेवा सञ्चालनमा छैन ।

यस क्षेत्रका नागरिक टेलिफोनका लागि करिब १० किलोमिटर पैदल हिँडेर बजारसम्म पुग्नुपर्ने स्थानीय बताउँछन् । नवदुर्गा गाउँपालिका–४ को चलकट्टेमा स्मार्ट सेल कम्पनीका सेटले मात्र फोन सेवा सञ्चालनमा छ । स्मार्ट सेलका पनि भर नहुने स्थानीय गणेश कैनीले बताए ।(रासस)

Featured