देश

हिरासतबाट भागेकामध्ये ४ जना पक्राउ

सिरहा, मंसिर १८–सिरहाको इलाका प्रहरी कार्यालय महेशपुरको हिरासतबाट शनिबार फरार ८ जना थुनुवामध्ये ४ जना पक्राउ परेका छन् । भागेका ३ जनालाई मंगलबार राति पक्राउ गरिएको हो भने १ जनालाई बुधबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिरहाले जनाएको छ । साँझको खाना खाने बेलामा थुनुवा कक्षको पछाडीपट्टिको ताल्चा प्रेसर कुकुरको डण्डीले तोडेर ८ जना पुरुष थुनुवा फरार भएका थिए । उनीहरुलाई सिरहाको विभिन्न स्थानमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए ।

फरारमध्ये नरहा गाउँपालिका १ तिलाठीका २३ वर्षीय नविन यादव, गोलबजार नगरपालिका ६ का २१ वर्षीय गणेश कुमार साह, सखुवान्कारकट्टी गाउँपालिका भौर गाउँका २१ वर्षीय रणधीर यादवसहित ३ जना मंगलबार राती पक्राउ परेका हुन् । हिरासतबाट भाग्ने योजनाकार भनिएका नविन ४५ दिनअघि ८९ बोतल डाइलक्स डिसी (लागूऔषध) सहित पक्राउ परी लागूऔषध मुद्दामा प्रहरी हिरासतमा थिए । अर्का योजनाकार गणेशकुमार साह पनि ८९ बोतल डाइलेक्स डिसीसहित पक्राउ परी लागूऔषध मुद्दामा हिरासतमा थिए । यस्तै, रणधीर ४६ बोतल डाइलेक्स डिसी सहित पक्राउ परी लागूऔषध मुद्दा हिरासतमा थिए ।

शनिबारै पक्राउ परेका मोरङका रोशन खड्का पनि लागूऔषध ट्याबलेटसहित पक्राउ परी लागूऔषध मुद्दामै हिरासतमा थिए । हिरासतबाट ८ जनासँगै भागे पनि बाहिर सबै एक्ला–एक्लै लुकेका थिए ।

थुनुवा फरार घटना छानबिन गर्न समिति
प्रदेश २ प्रहरी कार्यालयका प्रमुख डीआइजी प्रद्युम्न कार्कीले घटनाको अनुसन्धान गर्न वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरिराज वाग्लेको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छन् । के–कति कारण र कमजोरीले थुनुवा फरार भएका हुन् भन्नेबारे टोलीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यता, जिल्ला प्रहरी कार्यालयले घटनाका बखत सेन्ट्री बसेकी प्रहरी जवान सरिता कटुवाल र गार्ड कमाण्डर बसेका प्रहरी हवलदार महेशकुमार यादवलाई निलम्बन गरी अनुसन्धान सुरु गरिसकेको प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

Featured