विदेश

महाअभियोगको भुमरीमा अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी, मंसिर १८–अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोगको अनुसन्धान गरिरहेको संसदीय टोलीले उनलाई पदको दुरुपयोगमा महाभियोग लगाउन प्रशस्त प्रमाण रहेको बताएको छ । ट्रम्प–युक्रेन महाभियोग अनुसन्धान नामक प्रतिवेदन संसद्को तल्लो सदनको गुप्तचरीसम्बन्धी विषय हेर्ने समितिले सार्वजनिक गरेको हो । ट्रम्पले व्यक्तिगत लाभका लागि पदको दुरुपयोग गरेको आरोपमा महाअभियोगको अनुसन्धान गर्दै समितिले प्रतिवेदन सार्वजनिक गरेको हो।

प्रतिवेदनमा ट्रम्पमाथि न्यायमा अवरोध र्पुयाएको तथा आगामी चुनावमा आफ्नो हितका लागि यूक्रेनलाई मुछ्न खोजेको आरोप लगाइएको छ । राष्ट्रपतिले साक्षीहरूलाई तर्साउन खोजेको र कर्मचारीहरूलाई समितिले गरेको बोलावट अटेर गर्न दबाव दिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । समितिका अध्यक्ष एडम शिफले ट्रम्पले आफूलाई कानुनभन्दा माथि ठानेको र शक्ति दुरुपयोग गरेको प्रशस्त प्रमाण रहेको बताएका छन्।

ह्वाइट हाउसले भने प्रतिवेदनको विरोध गर्दै एकपक्षीय र नक्कली प्रक्रिया भएको टिप्पणी गरेको छ । राष्ट्रपतिले सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा आफ्नो स्थिति बलियो बनाउने उद्देश्यले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई डेमोक्रेटिक पार्टीबाट उम्मेदवारको प्रतिस्पर्धामा रहेका जोए बिडेनमाथि भ्रष्टाचारको अनुसन्धान गर्न दबाब दिएको प्रतिवेदनमा लेखिएको छ। यो प्रतिवेदनअनुसार ट्रम्पलाई महाअभियोग लगाउन प्रशस्त आधार रहेको बताइएको छ । दुई महिनाभन्दा धेरै समयदेखि संकलन गरिएको १७ जना साक्षीहरूको बयानमा सो प्रतिवेदन आधारित छ। राष्ट्रपति ट्रम्पले आफूले कुनै गल्ती नगरेको र आफूविरुद्ध योजनाबद्ध तरिकाले निरन्तर विपक्षी खनिइरहेको आरोप लगाउँदै आएका छन्् ।

Featured