देश

१० वर्षपछि खुला संसारमा विन्देश्वर महतो

सप्तरी, मंसिर १८–सप्तरीको राजविराज नगरपालिका–१ का विन्देश्वर महतोको घरबाट बाहिर निक्लिने सपना मंगलबार साकार भएको छ । पक्षघातका कारण दुवै खुट्टा नचल्ने भएपछि विगत १० वर्षदेखि घरमै थन्किएका ६५ वर्षीय महतोको बाहिर घुम्ने सपना ह्विल चियर पाएपछि पूरा भएको हो । ‘दिगो विकासको लक्ष्य, अपांगतामैत्री भविष्य’ मूल नारासहित २८औँ अन्तर्रा्ष्ट्रिय अपाङ्गता दिवसका अवसरमा राजविराजमा आयोजित एक कार्यक्रममा महतोले ह्विल चियर पाएका हुन् ।

अपांगता भई कष्टकर जीवन बिताइरहेकाहरूको हकअधिकारका लागि काम गरिरहेको समावेशी अपांग संघ, बौद्धिक अपांगता अभिभावक संघ र बहिरा संघले महतोलाई ह्विल चियर वितरण गरेको हो । ह्विल चियर पाएपछि निकै खुशी देखिएका महतोले भने, ‘बाहिरी संसार हेर्ने आँखा भए पनि हिँडडुल गर्न नसक्ने भएपछि घरकै कुनामा थन्किएको थिएँ, ह्विल चियर पाएपछि बाहिर निक्लने सपना पूरा हुने भएको छ ।’

सप्तरीको राजविराजसहित तिरहुत र रुपनी गाउँपालिकामा करिब २०० अपांगता भएका व्यक्तिलाई विभिन्न संघसंस्थाले सामग्री वितरण गरेको छ । राजविराजमा नौजना दृष्टिविहीन बालबालिकालाई झोलासहितको शैक्षिक सामग्री वितरण गरिएको छ । सगरमाथा अपांग कल्याण संघको आयोजना एवं लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समिति सप्तरीको संयोजनमा राजविराजमा आयोजित कार्यक्रममा ५५ जना अपांगता भएका व्यक्तिलाई कम्बल, स्टिलको थाल र गिलास वितरण गरिएको छ ।

त्यसअघि राजविराजस्थित महादेव मन्दिरबाट सुरु भएको प्रभातफेरीले राजविराज नगर परिक्रमा गरेको थियो । सगरमाथा अपांग कल्याण सङ्घ, राजविराजको प्रांगणमा पुगेर सभामा परिणत भएको कार्यक्रममा इञ्जिनीयर सूर्यनारायण यादवले विभेद र सामाजिक अवरोधले क्षमता हुँदाहुँदै पनि समाजको सक्रिय नागरिकका रूपमा जीवनका हरेक क्षेत्रमा सहभागी हुन नसक्ने अपांगता भएका व्यक्तिहरूको अवस्थामा परिवर्तन ल्याउन सबै अग्रसर हुनुपर्ने बताए ।

नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगतले हात चल्नेले हात चलाएर, मस्तिष्क चल्नेले मस्तिष्क चलाएर आर्थिक स्वावलम्बन प्राप्त गरी परिवार र समाजको बोझ होइन उदाहरणीय व्यक्ति बन्नुपर्ने बताए । भगतका अनुसार तिरहुत गाउँपालिकामा ८१ अपांग भएका व्यक्तिलाई कम्बल वितरण गरिएको छ । संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र नेपालले अनुमोदन गरेको राष्ट्रसंघीय विभिन्न प्रावधानकै सन्दर्भमा डिसेम्बर ३ लाई नेपालले महत्वका साथ अन्तर्रा्ष्ट्रिय अपांगता दिवस मनाउँदै आएको छ । (रासस)

Featured