विदेश

अमेरिकी डेमोक्रेट सिनेटर कमला ह्यारिस राष्ट्रपति चुनाव नलड्ने

एजेन्सी, मंसिर १८–भारतीय मूलकी डेमोक्रेट अमेरिकी सिनेटर कमला ह्यारिसले सन् २०२० मा राष्ट्रपति निर्वाचनमा भाग नलिने बताएकी छन् । उनले मंगलबार भनिन्, ‘म दुःखका भन्न चाहन्छु कि मैले राष्ट्रपति निर्वाचनमा राष्ट्रपतिको प्रतिस्पर्धी हुने योजना रद्द गरेकी छु । निर्वाचन लड्न प्रशस्त धनराशि आवश्यक पर्छ । म अर्बपति होइन ।’ कमलाले निर्वचनमा पतिस्पर्धा गर्ने योजना रद्द गरे पनि जनतालाई न्याय दिलाउने लडाइँ भने जारी रहने बताइन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कमलाको निर्णयप्रति व्यंग्य गर्दै ट्वीट गरे, ‘यो राम्रो भएन । कमला, हामीलाई तपाईको कमी महसुस हुनेछ ।’ यसको प्रत्युत्तरमा कमलाले भनिन्, ‘केही छैन, राष्ट्रपतिज्यू । तपाईविरूद्धको महाभियोग सुनवाइ पनि पर्खेकी छु । म निर्वाचनमा प्रतिस्पर्धी नभए पनि तपाईलाई हराउन निरन्तर काम गर्ने छु ।’

कमलाले ट्वीटरमा एक भिडियो सन्देश पोस्ट गर्दै भनेकी छन्, ‘राष्ट्रपति निर्वाचनमा उत्रन रकमको कमी देखियो । आजको यो साँचो कुरा हो । मैले यस्तो फैसला लिनुपूर्व सबै दृष्टिकोणबाट विचार गरें । अहिले म आफ्नो जीवनकै सबैभन्दा कठोर निर्णयमा पुगेकी छु ।’

भारतीय मूलकी कमला ह्यारिसलाई अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवारका लागि मजबुत दावेदार मानिदै आएको थियो । धेरैजसोले उनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन सक्ने नेताका रूप लिन्थे । कमलाका माता(पिता क्यालिफोर्निया विश्वविद्यालयमा बर्कलेमा अध्ययनका लागि बाहिरबाट अमेरिका आएका थिए । दैनिक भास्करका अनुसार कमलाकी आमा श्यामला गोपालन भारत र पिता डोनाल्ड ह्यारिस जमैकाबाट अमेरिका छिरेका थिए । दुवै नागरिक अधिकार आन्दोलनहरूमा सक्रिय थिए । उनीहरू अश्वेतहरूको जागरूकता र स्वतन्त्रतामा चर्चा गर्ने विद्यार्थीहरूको एक समूहमा आबद्ध थिए । सन् २००९ मा क्यान्सर लागेर कमलाकी आमाले संसार छोडिन् ।

Featured