देश

जनयुद्ध उद्यान एवं संग्रहालय निर्माण हुने

विराटनगर, मंसिर १८–मोरङको बेलबारी नगरपालिका(२ मा जनयुद्ध उद्यान एवं संग्रहालय निर्माण हुने भएको छ । यो उद्यान महेन्द्र राजमार्गदेखि दक्षिण चार किमिको दूरीमा रहनेछ । संग्रहालयका निम्ति बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले ७ करोड रुपैयाँ मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन्।

नेपालको कम्युनिस्ट आन्दोलन र जनयुद्धको इतिहास झल्किने किसिमको बन्ने यो पार्कका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्ययन भइरहेको र चालु आर्थिक वर्षमै यसको शिलान्यास हुने जनयुद्ध स्मृति प्रतिष्ठानका सचिव वीरेन्द्र बस्नेतले जानकारी दिए । उद्यान निर्माण गर्न करिब १ अर्ब रुपैयाँभन्दा बढी बजेट लाग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबाट उद्यानका निम्ति सक्दो सहयोग गर्ने वचन प्राप्त भएको प्रतिष्ठानका सचिव बस्नेतले जानकारी दिए । करिब पाँच वर्षमा निर्माण कार्य सम्पन्न हुने गरी संग्रहालयको योजना र कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । यसमा संघीय सरकार र प्रदेश सरकारको पनि आर्थिक सहयोग हुने सचिव बस्नेतले जानकारी दिए ।

पूर्वी नेपालको सबैभन्दा आकर्षक एवं अत्याधुनिक निर्माण हुने यो उद्यान आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि पनि निकै आकर्षक हुने बुझिएको छ । संग्रहालयको निर्माणपछि मोरङ बेलबारीमा महेन्द्र राजमार्गसँग जोडिएको बेतना सिमसार क्षेत्रले पनि महत्व पाउने अनुमान गरिएको छ । यी दुवै पर्यटक स्थलको दूरी करिब चार किमि मात्रैको फरकले पर्यटकहरूले दुवै क्षेत्रको भ्रमण गरेर प्रशस्त लाभ लिने विश्वास बढेको बेलबारी नगरपालिकाका प्रमुख सुवेदीको भनाइ छ । (रासस)

Featured