देश

केन्याबाट उद्धार गरिएका १२ नेपाली युवती आफन्तको जिम्मा लगाइयो

साउन ३ काठमाडौं । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)को सहयोगमा केन्याबाट उद्धार गरी नेपाल ल्याइएका १२ नेपाली युवतीलाई आफन्तको जिम्मा लगाइएको छ ।उनीहरुलाई प्रारम्भिक अनुसन्धानपश्चात् आइओएमका प्रतिनिधिको रोहोबरमा शुक्रबार आफन्तको जिम्मा लगाइएको नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ ।ती युवती भारतको बाटो हुँदै केन्या पुगेको प्रारम्भिक अनुसन्धानकाक्रममा खुलेको छ ।

उनीहरु विभिन्न स्थानबाट बसमार्फत् पूर्वको काँकडभिट्टा नाका हुँदै सिलगुडी–मुम्बई–अदिसाअबाब–मुम्बासा (केन्या) पुगेको खुल्न आएको छ ।

केन्याको मुम्बासा सहरस्थित रंगिला डान्सबारमा काम गर्दै आएका उनीहरुलाई त्यहाँको प्रहरीले छापामारी नियन्त्रणमा लिएको थियो ।उनीहरुलाई अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)को सहयोगमा बिहीबार राति नेपाल ल्याइएको हो ।उद्धार गरेर ल्याइएको युवतीलाई ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘रिसिभ’ गरेको थियो ।

केन्यामा नेपाली चेलीबेटी पक्राउ परेको भन्ने समाचार सार्वजनिक भएलगत्तै ब्यूरोले उनीहरुलाई नेपाल ल्याउन त्यहाँस्थित गैरआवासीय राजनीतिक मिसन, दक्षिण अफ्रिकास्थित नेपाली दूतावास र केन्याको अपराध अनुसन्धान निर्देशनालय (डीसीआई) सँग सहकार्य गरेको थियो । रासस