देश

लोक सेवाको विज्ञापन विरुद्ध उत्रिए चितवनका आदिवासी

साउन ०३ चितवन, लोक सेवाको विज्ञापन विरुद्ध चितवनमा आज विरोध प्रदर्शन भएको छ। संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशनमा भएको लोक सेवा आयोगको असमावेशी विज्ञापन विरुद्ध चितवनका आदिवासी जनजाति, दलित र मुस्लिम संघ संगठनहरुले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन ।

यसैबीच नेपाल दलित मुक्ति मोर्चा चितवनका इन्चार्ज खेमबहादुर दर्जीले आज काठमाडौं लगायत देशैभरि धर्ना, जुलुससहित सामान्य प्रशासन मन्त्री र लोक सेवा आयोगका अध्यक्षको पुत्ला दहन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
त्यस्तै भोलि उपत्यका लगायत देशैभरि जनप्रदर्शन र विरोध सभा गर्ने कार्यक्रम रहेको छ।आजदेखि पहिलो चरणको आन्दोलन सुरु गर्ने उनले बताए। पहिलो चरणको कार्यक्रम अन्तर्गत आज भरतपुरको चौबिसकोठीबाट विरोध जुलुससहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको उनले बताए ।


दर्जीले लोक सेवा आयोगको विज्ञापन असमावेशी र असंवैधानिक भएकोले उक्त विज्ञापन सच्याउनका लागि वहिष्कृत वर्गले दिएको सुझाव सरकार र लोक सेवा आयोगले नसुनेकोले आफूहरु एकीकृत भएर आन्दोलन गर्नु परेको बताए ।