खेलकुद

सन् २०२२ कतारमा हुने विश्वकपको दोस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा

काठमाडौं, साउन १- सन् २०२२ कतारमा हुने विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपाल निकै नै कठिन समूहमा परेको छ। एसियन फुटबल फेडेरेसनले मलेसियामा बुधबार सार्वजनिक गरेको ‘ड्र’ मा नेपालसँगै समूह ‘बी’मा कुबेत, चाइनिज ताइपेई, जोर्डन र अष्ट्रेलिया परेका छन्। यो समूह बाट विश्वकप खेलिसकेको अष्ट्रेलियन टिमलाई निकै नै बलियो टोलिको रुपमा हेरिएको छ।

सन् २०२२ कतारमा हुने विश्वकप फुटबलको दोस्रो चरणको छनोटका लागि एसियाका ४० राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ। नेपालले एसियाली राष्ट्रमा फिफा बरियताको शीर्ष ३४ भित्र पर्दै विश्वकप छनोटको दोस्रो चरण खेल्न लागेको हो।

डबल राउन्ड रोबिनको आधारमा हुने विश्वकप छनोटको दोस्रो राउण्ड होम एण्ड अवे गरी खेल्नेछन्। पहिलो चरणको खेल यही वर्षको सेप्टेम्बर ५ तारिखदेखि सुरु हुनेछ।

छनोट चरण बाट बिजेता बन्ने ८ टिम र ४ उत्कृष्ट उपविजेता गरी १२ टिमले विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन्। त्यस्तै, यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने छन्।