विदेश

अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका २२ हजार स्वास्थ्यकर्मी आन्दोलनमा

सिड्नी, साउन १-अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका करिब २२ हजार स्वास्थ्यकर्मीहरु आफ्नो असुरक्षाको कारण देखाउँदै आन्दोलनमा उत्रेका छन्। स्वास्थकर्मीले आफ्नो कार्यस्थलमा सुरक्षाको राम्रो व्यबस्था नरहेको र जति बेला जे पनि हुन सक्ने भन्दै आन्दोलनमा होमिएको अस्ट्रेलियाली सञ्चारमाध्यहरूले जनाएका छन्।

यस सम्बन्धी स्वास्थ्यकर्मीका ५ सयभन्दा भन्दा बढी युनियनका प्रतिनिधिहरुले अगस्ट १ देखि सबै काम ठप्प पार्ने पक्षमा मंगलबार मतदान गरेका जनाइएको छ। आन्दोलनरत सबै स्वास्थ्यकर्मीहरुले अगस्ट १ देखि दैनिक ४ घण्टा काम रोक्ने माग गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्।

स्वास्थ्यकर्मीहरुले आफ्नो कार्यस्थलमा रामो र मजबुत सुरक्षा व्यवस्था नहुँदासम्म काम नगर्ने अडान लिएका छन्। न्यु साउथ वेल्स राज्यको स्वास्थ्य सेवा युनियनका सचिव गेरार्ड हाइजले भने, ‘अस्पतालमा नै कैयौंको हत्या भएको छ, कैयौंमाथि छुरा प्रहार गरिएको छ र कैयौंलाई कुटपिट गरिएको छ, त्यसैले सुरक्षाको राम्रो प्रबन्ध नगर्दासम्म अस्पताल पुगेर काम गर्ने कुनै वातावरण नै छैन।’ उनले न्यु साउथ वेल्समा आफ्नो सुरक्षाको लागि त्यहाँ रहेको सुरक्षा निकायलाई थप २ सय ५० सुरक्षा गार्ड उपलब्ध गराउन पनि माग गरे।

एक तथ्यांकअनुसार गत वर्ष मात्र न्यु साउथ वेल्स राज्यका अस्पताल तथा स्वास्थ केन्द्रमा ४ सय ६५ माथि आक्रमणका घटना भएका थिए। गत जनवरीमा मानसिक सन्तुलन गुमाएका एक बिरामीले अस्पतालमा नै नर्सलाई छुरी प्रहार गरेका थिए। हाइजले उक्त घटनाको बारे सुनाउँदै बिरामी र कहिलेकाहीं बिरामीका आफन्तले पनि स्वाथ्यकर्मीमाथि आक्रमण गर्ने गरेको बताए।

न्यु साउथ वेल्स राज्यको स्वास्थ्य सेवा युनियनका सचिव गेरार्ड हाइजले आन्दोलनको घोषणा गरेता पनि अस्पतालमा उपचारका लागि आउने बिरामीलाई कुनै अप्ठेरो नपार्ने नीति लिएको बताएका छन् ।

Featured