देश

वडा अध्यक्षको फर्जी हस्ताक्षर गरेको अभियोगमा नयाँबजार खुसीबुका एक जना पक्राउ

काठमाडौं, असार ३१ वडा अध्यक्षको फर्जी हस्ताक्षर गरेको अभियोगमा मंगलबार प्रहरीले नयाँबजार खुसीबुका रविन खत्रीलाई पक्राउ गरेका छन्। पक्राउ परेका अभियुक्तले आर्थिक वर्षको अन्त्यमा व्यवसाय नवीकरण गर्ने उदेश्यले काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको फाइल सोह्रखुट्टेस्थित वडामा पेश गरेको पाइएकोले प्रहरीले रविन खत्रीलाई प्रक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुकुन्द रिजालले वडा कार्यालयको दर्ता शाखामा आफ्नो नक्कली हस्ताक्षर गरेर रविन खत्रीले फाइल पेश गरेको पाएपछि प्रहरीलाई बोलाएर जिम्मा लगाइएको जानकारी दिए।

खत्रीले अटो पार्टसका मालिक टेकबहादुर रायमाझीको निर्देशनमा आफूले उक्त फाइल वडामा ल्याएको र थप कुरा आफुलाई थाहा नभएको प्रारम्भिक बयानमा बताइएको छ।

प्रहरीले वडा अध्यक्षको फर्जी हस्ताक्षर गरेको बारेमा थप अनुसन्धान भइरहेको बताएको छ।