खेलकुद

नेपाली एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ को फाइनलमा प्रवेश

काठमाडौं, असार, २३ नेपाली क्रिकेट टोली एसीसी अन्डर १९ इस्टर्न रिजन २०१९ को फाइनलमा प्रवेश गरेको छ।आयोजक मलेसियालाई सात विकेटले पराजित गर्दै नेपालले फाइनलको यात्रा तय गरेको हो। किनरारा ओभलमा भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। नेपाली बलरहरुले कसिलो बलिङ गर्दै मलेसियालाई ४०.५ ओभरमा ८७ रनमा सिमित गर्यो। मलेसियाको ब्याटिङलाई ध्वस्त गर्ने क्रममा सागर ढकालले एकलै ले तीन विकेट लिए भने कुशल मल्लले २ विकेट लिए।

ढकालले १० ओभर बलिङ गर्दै ३ मेडनसहित १६ रन खर्चेर तीन विकेट लिन सफल भए। मल्लले ९ ओभरमा ५ मेडनसहित १३ रन खर्चेर दुई विकेट लिए। तिलक राज भण्डारी, रसिद खान र कमल सिंह ऐरीले ११ विकेट लिए।मलेसियाका लागि मोहमद अमिरले सर्वाधिक २४ रनको योगदान दिए।

जीतका लागि ८८ रनको झिनो लक्ष्य पाएको नेपालले उक्त लक्ष्य मात्र १५.५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो। नेपालका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले यसक्रममा २ चौका र एक छक्का प्रहार गरे।कप्तान रोहित कुमार पौडेलले ३१ रनको योगदान दिए। यसक्रममा उनले पनि समान २ चौका र १ छक्का प्रहर गरेका थिए। ओपनर पवन सर्राफले १८ रन बनाए।

अब नेपालले हङकङ र सिङ्गापुरको विजेतासँग भिड्नेछ। फाइनलमा नेपालले जीत हासिल गरे युवा एशिया कपका लागि छनौट हुनेछ।जहाँ नेपालले भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

Featured