NRNA खबर देश

रुस भ्रमण गरी योगेश भट्टराई नेपाल फिर्ता

फोटो: माननीय योगेश भट्टराईको फेसबुक पेजबाट साभार।

असार २२, मस्को, रसिया।
प्रतिनिधि सभाका माननीय सांसद एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका सदस्य कमरेड योगेश भट्टराई जुलाई १ देखि ३ सम्म भएको ‘संसदीय अभ्यासको विकास सम्बन्धी दोस्रो अन्तराष्ट्रिय मञ्च’ मा सहभागी हुन मस्को आउनु भएको थियो। मस्को भ्रमणको अवसरमा सांसद योगेश भट्टराईले रसियन कम्युनिष्ट पार्टीका वरिष्ठ नेता गेन्नाडी आन्द्रेवीच ज्यूगानोभ र अन्य नेतासंग भेट गरी रूस-नेपाल मित्रता र दुई पक्षिय सहयोगका बिषयमा गहन छलफल तथा नेपाल कम्युनिष्ट पार्टीको पछिल्लो अवस्था सहित नेपालको बारेमा जानकारी गराउनु भएको थियो। सन् २०११ को सेप्टेम्बरमा ज्यूगानोभ चौंथोपटक राष्ट्रपतिका लागि भिडेका थिए । जुन निर्वाचनमा ज्यूगानोभ दोस्रो भए।

रुस भ्रमणकै क्रममा नेपाली दूतावास मस्को, रसिया र गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदको तत्वावधानमा माननीय योगेश भट्टराई र छोटो समयको लागि रुस-भ्रमणमा रहनु भएका नेपाल सरकारका पूर्व अर्थमंत्री तथा नेपाली काँग्रेसका नेता रामशरण महतसंगको अंतर्क्रिया कार्यक्रम रहेको थियो। नेपाली दूतावासमा आयोजित कार्यक्रमा मस्कोमा विधमान विभिन्न नेपाली संघ-संस्थाका पदाधिकारी एवं सल्लाहकारहरुको र केही विदेशी पाहुनाहरूको प्रतिनिधिमूलक उपस्थिति रहेको थियो । उक्त समारोहको अध्यक्षता गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष श्री रामेश्वर गौतमले गर्नुभएको थियो भने स्वागत मन्तब्य महामहिम राजदूत श्री ऋषिराम घिमिरेज्यूले गर्नुभएको थियो। आ-आफ्नो मन्तव्य दिने क्रममा गैरआवासीय नेपाली संघ केन्द्रिय महासचिव डा. बद्री केसी, यूरोप उपसंयोजक श्री गोविन्द प्रसाद गौतम र वरिष्ठ साहित्यकार श्री कृष्णप्रकाश श्रेष्ठ रहनुभएको थियो ।

यसै सिलसिलामा गैर आवासीय नेपाली संघका अन्य सदस्यहरूसंग सहकार्य गरी रसियाका विभिन्न ऐतिहासिक ठाऊहरू अवलोकन गराउने काम सहित उहाँहरूको भ्रमणलाई सफल पार्नका लागि नेपाली दूतावास मस्को, रसिया र गैरआवासीय नेपाली संघको उल्लेखनीय भूमिका रहेको थियो ।