सूचना/ प्रबिधि

साझा यातायातको विधुतीय कार्ड वितरण

काठमाण्डौ, १३ असार, शुक्रबार

साझा यातायातले यात्रुलाई सुविधा दिने उद्देश्यले पाँच सय विधुतीय कार्ड बिक्री गरिसकेको छ। यात्रुलाई सुविधा पुर्याउने उद्देश्यले शुरु गरिएको यो सेवाप्रति यात्रु आकर्षित भइरहेको साझा यातायातले जनाएको छ। नियमित रुपमा साझा बस चढ्ने यात्रुलाई सुविधा पुर्याउन यो सेवा शुरु गरिएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए। उनकाअनुसार संस्थाले अहिले सबै बसहरुमा ‘ई–टिकेटिङ’ सेवा लागू गरेको पनि बताए। नियमित रुपमा बसमा यात्रा गर्ने कर्मचारी, विद्यार्थी लगायत लाई यो सेवाले फाइदा पुर्याइरहेको उनले बताए। उनले भने, ‘यात्रुले यसबारेमा बुझ्दै जाँदा प्रयोग बढ्दै जाने विश्वास छ।’

यात्रुले बसमा कार्यरत सहचालक वा साझा यातायातको पुल्चोकस्थित कार्यालयबाट कार्ड खरीद गर्न सक्छन्। नयाँ कार्ड खरीद गर्दा त्यसमा यात्रुले पूरै रकम पाउने उनले बताए। उनले भने, ‘रु २०० को कार्ड किन्दा यात्रुले रु २०० नै पाउनुहुन्छ।’ नेपालमा सार्वजनिक यातायातमा नयाँ प्रविधि भित्र्याइरहेको साझा यातायातको अहिले काठमाडौँ उपत्यका र उपत्यकाबाहिर चल्ने गरेर ७१ बस सञ्चालनमा गरिरहेका छन्।

Featured