देश विदेश

नामको साइडलाइनमा सार्कको चिन्ता

काठमाडौं, कात्तिक १०–प्रधानमन्त्री केपी ओलीले बंगलादेशका प्रधानमन्त्री सेख हसिना र पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अवरुद्ध प्रक्रिया अघि बढाउन संयुक्त पहल गर्ने बताएका छन्। सार्क अध्यक्षसमेत रहेका ओलीले हसिनासँग अवरुद्ध सार्कलाई क्रियाशील बनाउन नेपाल र बंगलादेश सक्रिय हुनुपर्नेमा जोड दिएका थिए। सार्क स्थापनामा नेपाल र बंगलादेशको विशेष भूमिका छ।

अजरबैजानको बाकुमा आयोजित असंलग्न आन्दोलन (नाम) को शिखर सम्मेलनका क्रममा भएको साइडलाइन भेटवार्तामा प्रधानमन्त्री ओलीले भारत र पाकिस्तानका नेताहरूसँग सार्कलाई गतिशील बनाउने विषयमा छलफल गरेका हुन्। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्कलाई अघि बढाउन सहकार्य र परामर्श गर्दै जाने विषयमा छलफल भएको बताए। सार्क शिखर सम्मेलन विगत चार वर्षदेखि अवरुद्ध छ।

बंगलादेशका प्रधानमन्त्री हसिनासँग ऊर्जा, पारवहनलगायत सम्पर्क सञ्जाल विस्तार र व्यापारिक सहकार्यमा छलफल भएको जानकारी ज्ञवालीले दिए। उनले भने, ‘सहकार्यका लागि छलफल निकै उपयोगी र फलदायी भयो।’ प्रधानमन्त्री ओलीले पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीसँग दुईपक्षीय चासोका साथै सार्कलाई गतिशील बनाउने विषयमा छलफल गरेका थिए।

सार्कको अवरुद्ध प्रक्रिया र दुवै मुलुकले भोगेका चुनौतीका विषयमा छलफल भएको ज्ञवालीले बताए। भेटमा प्रधानमन्त्री ओलीले सार्क मुलुकबीच मतभेद कम गरी यसलाई पुनः सक्रिय बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न आआफ्नो स्थानबाट काम गर्न आवश्यक रहेको धारणा राखेका थिए।

पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न नपाएकोमा चिन्तित छ। पाकिस्तानले जतिसक्दो छिटो शिखर सम्मेलन गर्न पहल गरिरहेको छ। प्रधानमन्त्री ओलीले शुक्रबार भारतीय उपराष्ट्रपति भेन्कैया नायडुसँग पनि सार्क लगायतका विषयमा छलफल गरेका थिए। यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

Featured