देश

नारायणगढ–बुटवल सडक विस्तारको काम सुरु, ५० हजार रुख काटिने

कावासोती, कात्तिक ९–पूर्व पश्चिम राजमार्गअन्र्तगत नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम सुरु गरिएको छ । निर्माणको जिम्मापाएको चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले पूर्वी खण्ड नवलपरासीपूर्वको लोकाहा र गैँडाकोटको थुम्सिबाट सडक विस्तारको काम सुरु गरेको हो । नारायणगढ–बुटवल सडक विस्तारको काम शुरु हुन नसकेको भनेर गुनासो बढ्न थालेपछि निर्माणको जिम्मा पाएको कम्पनीले काम सुरु गरेको हो । गत चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सडक विस्तारको शिलान्यास गरेका थिए ।

शिलान्यासको सात महिनापछि काम सुरु भएको छ । सडक विस्तारका क्रममा सडक क्षेत्रभित्र पर्ने रुख काट्ने अनुमति प्राप्त हुन नसक्दा कम्पनीले रुख नभएको स्थानबाट काम सुरु गरेको छ । आयोजनाको पूर्वी खण्डका योजना प्रमुख सुजन अधिकारीका अनुसार रुख काट्ने अनुमति अझै पूर्णरुपमा पाइएको छैन । रुख काट्ने अनुमति नआएको र काम सुरु गर्नसमेत ढिलो भएपछि कम्पनीले रुख नभएको स्थानबाट काम सुरु गरेको हो ।

पहिलो पटक गरेको वातावरणीय अध्ययनबाट रुख कटानको यकिन तथ्याङ्क ननिस्किएपछि दोस्रो पटक फेरि वातावरणीय अध्ययन गर्नुपरेकाले रुख कटानको अनुमति आउनसमेत ढिलाइ भएको उनले बताए । दोस्रो पटकको वातावरणीय अध्ययनबाट कम्तीमा ५० हजार रुख काट्न सकिने स्वीकृति भएको छ । रुख काट्न अनुमति भने अझै नआएको हुदाँ तिहारलगत्तै रुख कटानको अनुमति आउने र काम पनि धमाधम सुरु हुने योजना प्रमुख अधिकारीले बताए । रुख नभएको स्थानमा माटो काट्ने, तह मिलाउने र माटो भर्ने काम गरिने योजना प्रमुख अधिकारीले बताए । त्यसअन्तर्गत लोकाहामा माटो काट्ने, तह मिलाउने र माटो भर्ने काम सुरु गरिएको छ ।

गैँडाकोटको थुम्सीबाट भने सडकमा रहेका सानासाना पानी निकासका लागि राखिएका ह्युम पाइपलाई फेर्ने, व्यवस्थित गर्ने काम गर्न लागिएको उनले बताए। अहिले पहिलो खण्डअन्तर्गत गैँडाकोटदेखि दाउन्नेसम्मको काम सुरु गरिएको हो । रुख काटन अनुमति लिन, विद्युत्, खानेपानीलगायत सडक क्षेत्रभित्र पर्ने पूर्वाधारको व्यवस्थापनको विषय छलफल गरेर काम गर्नुपर्ने भएकाले समेत काम शुरु गर्न ढिलाइ भएको योजना प्रमुख अधिकारीले बताए ।

Featured