देश विदेश

भेनेजुयलाका राष्ट्रपति मडुरोलाई भेटे प्रधानमन्त्रीले, असंलग्न मुलुकको उपाध्यक्षमा नेपाल

काठमाडौं, कात्तिक ९–प्रधानमन्त्री केपी ओलीले विश्व परिवेशमा परिवर्तन आए पनि असंलग्न आन्दोलनको महत्त्व र सान्दर्भिकता अझै उत्तिकै रहेको बताएका छन्। अजरबैजानको राजधानी बाकुमा जारी असंलग्न आन्दोलन (नाम) कोे १८औं शिखर सम्मेलनको एक सत्रमा शुक्रबार अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गरेका हुन्।

शिखर सम्मेलनमा नेपाल एसिया प्रशान्त क्षेत्रबाट उपाध्यक्ष चयन भएको छ। उपाध्यक्ष चयन भएपछि प्रधानमन्त्री ओलीले नाम सम्मेलनको अध्यक्षता गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले टेलिफोनमा बताए। शिखर सम्मेलन उद्घाटन गर्दै भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोले असंलग्न आन्दोललाई थप सक्रिय बनाउन आवश्यक रहेको बताए। संयुक्त राष्ट्रसंघको ७४ महासभाका अध्यक्ष तिजानी मुहम्मन बान्देले नामलाई अन्तर्रा्ष्ट्रिय शान्ति एवं सुरक्षा प्रवद्र्धन गर्न आग्रह गरे।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियभ आउँदो तीन वर्षका लागि नयाँ अध्यक्षमा चुनिएका छन्। उनले नामलाई समयसापेक्ष र प्रभावकारी बनाएर अघि बढाउन लागिपर्ने बताए। सार्कमा समेत नेतृत्व गरिरहेको नेपाल नामको उपाध्यक्षमा चयन भएको छ। हरेक क्षेत्रबाट उपाध्यक्ष रहने प्रावधान छ। प्रधानमन्त्री ओली र भेनेजुयलाका राष्ट्रपति मडुरोबीच संक्षिप्त भेट भए पनि दुईपक्षीय वार्ता भने शनिबार बिहान हुने कार्यक्रम छ। राष्ट्रपति अलियभले दिएको रात्रिभोजमा पनि प्रधानमन्त्री सरिक भएका थिए। रात्रिभोजमा पनि अधिकांश नेताहरुसँग संक्षिप्त भेटवार्ता भएको थियो। यो समाचार आजको अन्नपूर्ण पोष्टले छापेको छ ।

Featured