देश

गौर घटना : ‘अपराध गर्ने उम्कन पाउँदैन’

काठमाडौं, कात्तिक ९–कार्यवाहक प्रधानमन्त्री एवं नेकपा नेता ईश्वर पोखरेलले कानुनविपरीत काम गर्ने जोसुकै भए पनि कारबाहीको भागिदार हुने बताएका छन्। विराटनगर विमानस्थलमा गौर घटनाबारे पोखरेलले पत्रकारसँग शुक्रबार भने, ‘कानुनभन्दा कोही पनि माथि हुँदैन, त्यसकारण सबैले सोच्नुपर्छ। अपराध गर्ने जोकोही होस्, उम्कन पाउँदैन। त्यसतर्फ सरकार गम्भीर र सचेत छ।’

गौरमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र नेकपा माओवादीबीच झडप हुँदा माओवादीका २७ जना कार्यकर्ताको मृत्यु भएको थियो। यो घटना फोरमका तत्कालीन अध्यक्ष उपेन्द्र यादवको निर्देशनमा भएको आरोप छ। यादव अहिले उपप्रधानमन्त्री छन्। त्यस्तै राजपुर बम विस्फोटका आरोपित महम्मद आफताब आलमलाई राजनीतिक पूर्वाग्रहका आधारमा नभई प्रमाणका आधारमा कारबाही अघि बढाइएको उनले बताए।

‘आलमलाई कुनै राजनीतिक आस्था वा विचारका आधारमा पूर्वाग्रही भएर सरकारले कारबाही गरेको होइन’, उनले भने, ‘त्यो कुरा सबैले बुझ्नुपर्छ। आलमका विरुद्ध किटानी जाहेरी र सबुत प्रमाण फेला परेको र त्यसका आधारमा उनीमाथि कारबाही अघि बढेको हो।’ यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured