देश

थिएटर मलमा शिशिर वसन्तको कथामा ’पपेट’ नाटक

काठमाडौं, कात्तिक ८–कीर्तिपुर राराहिलस्थित थिएटर मल कीर्तिपुर रंगमञ्चमालोकप्रिय नेपाली लोककथा ‘शिशिर वसन्तको कथा’मा पपेट नाटक मञ्चन भएको छ । जापानी पपेट निर्देशकको साथमा भएको १० दिने पपेट थिएटरको कार्यशालाले सो नाटक तयार पारेको हो ।

जापानको उटरभिजन थिएटर कम्पनीको सहकार्यमा थिएटर मलले गरेको कार्यशालामा शिशिर वसन्तको कथाका मुख्यमुख्य पात्रहरूको पपेट डिजाइन गरी नाटक तयार पारेको हो । जापानमा प्रचलित तीन जनाले संयुक्त सन्तुलनमा चलाउने पपेटमार्फत शिशिर वसन्तको कथालाई मञ्चन गरिएको हो ।

उटरभिजनका कला निर्देशक इरिना सजीको निर्देशनमा सञ्चालित कार्यशालामा १२ रंगकर्मी र ९ स्कुले बालबालिका सहभागी थिए । उनीहरूले १० दिवसीय कार्यशालाको सय घण्टामा पपेट पात्र निर्माणदेखि सञ्चालनसम्मको अभ्यास गर्दै पपेट नाटक मञ्चन गरेका हुन् ।

कार्यशालाको समापनमा आयोजना गरिएको पपेट नाटक मञ्चनमा शिशिर वसन्तको कथासँगै अन्य दुई छोटो पपेट प्रस्तुति पनि मञ्चन गरिएको थियो, जसमा शेक्सपियरको ‘एज यु लाइक इट’ र नेपाली लोककथा ‘सेल रोटी’लाई पपेट पात्रमार्फत मञ्चन गरिएको हो ।

यसै कार्यशालासँगै थिएटर मलले पपेट थिएटरलाई अझै निपूण र आफ्नो शैली बनाउन ‘नेपाल पपेट थिएटर’ सुरू गरेको कला निर्देशक केदार श्रेष्ठले बताए । यो समूहले निरन्तर अभ्यास र परिकल्पना गर्दै पपेट विधालाई नेपाली रंगमञ्चमा निरन्तरता दिने उनले उल्लेख गरे ।

थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल, राराहिल मेमोरियल स्कूल र आसितेज नेपालको सहकार्यसहित आयोजित कार्यशालामा इरिनाको साथमा एरी तोमोई,इजावा रेई र मियामोतोको जापानीकलाकारहरू थिए । समापन कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उपमेयर सरस्वती खड्काले जापानी समूहलाई बिदाइ गरेका थिए ।

कार्यशालामा इलिना नकर्मी, सञ्जिता पराजुली, सविर चुरौटे, शंकर भण्डारी, सुजिता महर्जन, प्रशान्त श्रेष्ठ, क्षितिज पराजुली, मनिष व्यन्जू, मदन श्रेष्ठ, सरोज राई, हीरा महर्जन, पूजा ढकालले पपेट थिएटरको अभ्यास गरेका थिए । त्यस्तै, स्कुले बालबालिकाहरूमा सहर्षा क्षत्री, अरविन खड्का, कीर्ति भट्टराई, अनुप पुरी, निपूण पौडेल, असिम त्वनबसु, सहश्राम्सु नेपाल, कलिना पाण्डे, शुभेच्छुक ढुंगाना सहभागी थिए ।

Featured