देश मनोरंजन

सगरमाथा बेस क्याम्पमा फेसन शो हुने

काठमाडौं, कात्तिक ८–विश्वको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पमा फेसन शो आयोजना गरिने भएको छ । नन–बायोडिग्रेडेबल (अपघटन नहुने जैविक) फेसन उत्पादन तथा सामानको प्रयोग निरुत्साहन गर्दै प्रकृति तथा हिमालको संरक्षण गर्ने विषयमा विश्वको ध्यानाकर्षण गर्ने उद्देश्यले फेसन शो आयोजना गर्न लागिएको हो ।

फेसन शोमा विश्वका चर्चित १५ अन्तर्रा्ष्ट्रिय सुपरमोडलहरुको सहभागिता रहने आयोजक कासा बुटिकले जानकारी दिएको छ । जनवरी २०२० को अन्तिम साता आयोजना हुन लागेको कार्यक्रमले भिजिट नेपाल २०२० को प्रचार तथा प्रवर्द्धन गर्न पनि मद्दत गर्ने आयोजकको विश्वास छ ।

मौसम परिवर्तन विश्वव्यापी समस्याका रूपमा, सम्पूर्ण मानवताकै लागि खतराका रूपमा देखिएको बेला सचेतना बढाउन फेसन शोको आयोजना गर्न लागिएको हो । हिमाल आरोहण गर्नेको संख्या बढेसँगै सगरमाथासहित सबै हिमाल प्रदूषित बन्दै गएका छन् । अपघटन नहुने जैविक सामानबाट बनेका उत्पादनको प्रयोग निरुत्साहन गर्नु सो कार्यक्रमको उद्देश्य रहेको छ ।

फेसन शोका साथै अपघटन हुने जैविक सामग्रीबाट नेपालामै उत्पादित पश्मिना र फेल्टसम्बन्धी जानकारीमूलक वर्कशपको पनि आयोजना हुनेछ । वर्कशपमा हिमाल आरोहण तथा ट्रेकिङ गर्नेहरूलाई अपघटन हुने जैविक कपडा प्रयोग गर्न प्रेरित गरिनेछ ।

फेल्ट र पश्मिनाजस्ता ‘मेड इन नेपाल’ कपडा प्रयोगबाट प्रकृति र हिमाललाई नोक्सान नहुने कासा बुटिकले जनाएको छ । कासा बुटिक नेपालमा स्थापित अन्तर्रा्ष्ट्रिय फेसन ब्रान्ड हो । कासा बुटिकले अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत यूरोपका विभिन्न देशमा नेपालमा बनेका कपडा निर्यात गर्ने गरेको छ ।

यसअघि ३० अगस्ट, २०१९ मा कासाले अर्को अन्तर्रा्ष्ट्रिय फेसन शो ‘डेब्यु’को आयोजना गरेको थियो । सो कार्यक्रममा अफ्रिका, यूरोप, भारत र दक्षिण एसियाका सुपरमोडलहरूको सहभागिता रहेको थियो ।

Featured