देश

धनगढीलाई प्राविधिक शिक्षालय संचालनको अनुमति

धनगढी, कातिक ८–धनगढी उपमहानगरपालिकाले आफ्नै प्राविधिक शिक्षालय सञ्चालनको अनुमति पाएको छ । प्राविधिक शिक्षा संचालन गर्ने अनुमति पाएसँगै यसै शैक्षिक सत्रबाट पठनपाठनको तयारी गरिएको उपमहानगरपालिकाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । आफैं प्राविधिक शिक्षालय संचालन गर्ने धनगढी उपमहानगरपालिका उपत्यका बाहिरको पहिलो स्थानीय तह हो । यसअघि भक्तपुरले ख्वप इन्जिनियरिङ कलेज संचालनमा ल्याएको थियो ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभिटी) सँगको साझेदारीमा उपमहानगरपालिकाले सरकारी स्तरको धनगढी पोलिटेक्निकल इन्स्टिच्युट नामक प्राविधिक शिक्षालय संचालन गर्न थालेको जानकारी दिईएको हो । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले न्यून शुल्क लिएर विद्यार्थीलाई पठनपाठनको व्यवस्था मिलाईएको जानकारी दिए । विद्यार्थीले १ लाख ९० हजार भित्र नै स्नातक तहको पढाई पूरा गर्नेछन् ।

पहिलो चरणमा डिप्लोमा तह होटल व्यवस्थापन र अटो मोबाईल इन्जीनियरिङको पढाई हुने छ । होटल व्यवस्थापनतर्फ ४० र अटोमोबाइल इन्जीनियरिङतर्फ ४८ कोटा रहेको छ । नगरप्रमुख वडका अनुसार अटोमोवाईल इन्जीनियरिङ धनगढी उपमहानगरपालिकाको १९ वटै वडाका लागि १र१ वटा कोटा निर्धारण गरिएको छ । त्यसैगरी प्रदेशका ९ वटै जिल्लाका लागि १र१ वटा कोटा निर्धारण गरिएको छ । खुलातर्फ १९ जनाको कोटा छ भने एउटा नगरपालिकाको कोटा रहेको छ ।

होटल व्यवस्थापनतर्फ पनि अटोमोवाईल इन्जीनियरिङ जस्तै कोटा निर्धारण गरिएको भएपनि ४० मात्रै कोटा भएकाले खुलातर्फ ११ जनाको कोटा निर्धारण गरिएको बताइएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख डा.कुष्माकर भट्टले धनगढी उपमहानगरपालिकाले उदारणीय काम थालेको बताए ।

उनले भने, ‘भक्तपुरबाहेक यस्तो ढाँचामा प्राविधिक शिक्षालय खोल्ने धनगढी नै पहिलो हो । डिप्लोमा तह अटोमोबाईलको पढाई प्रदेश–५, कर्णाली र सुदूरपश्चिममा कतैपनि संचालनमा छैन ।’ भर्ना आवेदन खुला भैसकेको बताउदै धनगढी उपमहानगरपालिका शिक्षा शाखा प्रमुख बिष्णु कोईरालाले भने, ‘सिटिईभिटीको प्रवेश परीक्षा उत्तीर्ण गरेकाले स्वतः भर्ना पाउने छन् । नयाँले पुनः परीक्षामा सहभागी हुनुपर्नेछ ।’

Featured