देश राजनीति

कास्की–२ मा विद्या भट्टराईको नाम सर्वसम्मत

पोखरा, कात्तिक ८–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की– २ मा हुने उपचुनावका लागि विद्या भट्टराईको नाम सिफारिश गरेको छ । शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले नेतृ विद्या भट्टराईलाई एकल उम्मेदवारको रूपमा सिफारिश गर्ने निर्णय गरेको छ ।

सर्वसम्मत रूपमा विद्या भट्टराईलाई नै उम्मेदवार बनाउने सिफारिश गरिएको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका थापाले भने, ‘सर्वसम्मत रूपमा सबै साथीहरूले नै विद्याजीलाई सिफारिश गर्ने प्रस्ताव ल्याउनुभयो, सबैको सहमतिमा नै एकल रूपमा उहाँलाई सिफारिश गर्ने निर्णय गरेका हौं ।’

भट्टराई स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नीसमेत हुन् । कास्की– २ मा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ । कास्की– २ प्रतिनिधिसभाको उपनिर्वाचनका लागि चुनाव हुने १ मात्र क्षेत्र हो । यस क्षेत्रका लागि नेपाली कांग्रेसले नेता देवराज चालिसेसहित १६ जनाको नाम सिफारिश गरेको छ । साझा पार्टीले भने रजनी केसीलाई उम्मेदवार घोषणा गरेको छ ।

Featured