देश

कास्कीमा राति १० बजेपछि देउसीभैलो खेल्न प्रतिबन्ध

पोखरा, कात्तिक ८–जिल्ला प्रशासन कार्यालय कास्कीले राति १० बजेपछि देउसीभैलो खेल्न तथा ध्वनि प्रदूषण हुने गरी गीत बजाउन प्रतिबन्ध लगाएको छ । तिहार विशेष सुरक्षा सतर्कताका लागि बेलुका १० बजेसम्म मात्र कास्कीमा देउसीभैलो तथा सांगीतिक कार्यक्रम गर्न अह्वान गरिएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।

दीपावलीलाई मर्या्दित तरिकाले मनाउन तथा शान्तिसुरक्षा कायम गर्न यस्तो निर्णय गरिएको हो । १० बजेपछि देउसीभैलो खेलेको वा अरूलाई असर पर्ने गरी गीत बजाएको पाइएमा प्रहरीले नियन्त्रणमा लिन सक्नेछ । ‘हामीले राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न आह्वान गरेका छौं,’ उनले भने, ‘यदि कसैले प्रशासनको आग्रह अटेरी गरेमा उनीहरुलाई कानुनबमोजिम कारबाही गर्नेछौं ।’

तिहारको समयमा कसैले पटका ओसारपोसार, बिक्रीवितरण वा पटका पड्काएको भेटिएमा सार्वजनिक मुद्दा चलाउने प्रजिअ केसीले बताए । ‘हिन्दुहरूको महान् पर्व दीपावलीको अवसरमा हुन सक्ने अवाञ्छित क्रियाकलापहरूको नियन्त्रणका लागि यस्तो निर्णय गरेका हौं’, उनले भने, ‘बेलुकाको समयमा विभिन्न टोलीहरू देउसीभैलो खेल्ने र त्यसमध्ये केहीले मादक पदार्थसमेत सेवन गरेर अमर्या्दित क्रियाकलापसमेत गर्न सक्ने भएकाले सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै १० बजेसम्मको समय तोकिएको हो ।’

कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले तिहारमा हुनसक्ने सुरक्षा संवेनशिलतालाई मध्यनजर गर्दै ठाउँठाउँमा प्रहरीको विशेष टोली खटिने बताए । ‘यदि कानुनले बन्देज गरेका कुनै पनि अवाञ्छित क्रियाकलाप गरेको भेटिएमा तत्कालै कारबाही गर्नेछौं’, उनले भने ।

Featured