खेलकुद देश

नेपाल द्वारा सिँगापुर २ सय १७ रनको फराकिलो अन्तरले पराजित

काठमाडौं, असार २०, रीत गौतमको शतक र कुशल मल्लको विष्फोटक अर्धशतकको मद्दतले एसीसी यू-१९ इस्ट्रन रिजन क्रिकेट अन्तर्गत नेपालले सिँगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गरेको छ। यो जित संगै नेपाल समुह ए को बिजेता बनेको छ। दुवै टोली यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेका छन्। नेपालको जितमा रित गौतम नायक साबित भए। नेपाली अण्डर १९ क्रिकेटमा झण्डै चार बर्षको शतकको खडेरी तोडेका रितले १ सय ३७ बलमा नटआउट एक सय १५ रन बनाए। रितले तीन बिशाल साझेदारी गरे संगै नेपालले ५० ओभरमा चार विकेट गुमाउदै ३ सय २६ रनको बिशाल योगफल खडा गरेको थियो।

रितले १० चौका र एक छक्का प्रहार गरे। निकै उत्कृष्ट ब्याटिङ्ग गरेको नेपालका लागि रित र पवन शर्राफले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरे। पवनले ४१ बलमा १० चौका प्रहार गर्दै ४५ रन बनाए । पवनको विकेट पतनपछि रित र खडक बोहोराले नेपालको इनिङ्गस सम्हाले। उनीहरुले दोश्रो विकेटका लागि १ सय ३१ रनको साझेदारी गरे। ९० बलकै सामना गरेका खडकले १२ चौका प्रहार गरे । बिशाल बिक्रम केसी र कप्तान रोहित सस्तैमा आउट भए पनि त्यसले नेपाललाई खासै प्रभाव पार्न सकेन।

खेलमा आक्रमक अर्धशतक प्रहार गरेका कुशलले २३ बलमा ५१ रनको विष्फोटक अर्धशतकी पारि खेल्नुका साथै ४ विकेट लिएपछि सिँगापुर ३९ दशमलव एक ओभरमा १ सय ९ रनमै समेटियो। निकै कसिलो बलिङ्ग गरेका कुशलले ९ दशमलव एक ओभरमा १४ रनमात्र खर्चिएका थिए ।

तिलक राज भण्डारीले पनि नेपालका लागि दुई विकेट लिएका थिए। कुशलको बलमा एलबिडब्लु धरापमा पर्नु अघि हरि कुक्रेजाले सिँगापुरका लागि सर्वाधिक ३० रन बनाए। यस्तै कन्नुसामी सतिषले २४ र चन्द्रमौलि श्रीदेवले २३ रन बनाए।