विदेश

महाराष्ट्रमा सरकार बनाउन भाजपा र शिवसेना दुवैको दाबी

एजेन्सी, कात्तिक ८–भारतको महाराष्ट्र विधानसभाको मतपरिणाम सार्वजनिक भएपछि बहुमत ल्याएको भाजपा र शिवसेनाको गठबन्धनका दुवै दलले सरकार बनाउने दाबी गरेका छन् । महाराष्ट्र विधानसभामा अघिल्लो निर्वाचनको तुलनामा सिटसंंख्या घटेपनि सरकार बनाउन आवश्यक १४५ सिटको आंकडा भने पार गरेको छ ।

हरियाणामा भने कुनै पनि दलले बहुमत ल्याउन सकेनन् । ९० विधानसभा सिट रहेको हरियाणामा भाजपाले यसअघि एकल रुपमा ४७ र गठबन्धनमा रहेको शिरोमणि अकाली दलको एक गरी ४८ सिटसहित स्पष्ट बहुमतको सरकार बनाएको थियो । यसपटक भने भाजपा ४० सिटमा खुम्चिएको छ ।

हरियाणामा भाजपाले ३१ सिट जितेको छ । सन् २०१४ को निर्वाचनमा कांग्रेसले १५ सिट जितेको थियो । हरियाणामा भाजपालाई सरकार बनाउन थप ६ जना विधायकको समर्थन आवश्यक छ ।

महाराष्ट्रमा भाजपा र शिवसेनाको गठबन्धनले गरी १ सय ६२ सिटमा जित हासिल गरेको छ भने कांग्रेसको गठबन्धनले १०४ सिटमा जित हासिल गरेको छ । नरेन्द्र मोदी दोस्रो पटक भारतको प्रधानमन्त्री भएपछि पहिलो पटक भएको विधानसभा निर्वाचनमा दुवै राज्यमा भाजपा पहिलेको तुलनामा केही कमजोर देखिएको छ ।

तर महाराष्ट्रमा दुईमध्ये कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा विवाद देखिएको छ । चुनावी परिणामको अनुमानपछि पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा शिवसेनाका प्रमुख उद्धव ठाकरेले ५०–५० को सुत्रअनुसार सरकार बन्ने दाबी गरे ।

उनले भने, ‘अब कोही दाजु र कोही भाइजस्तो अवस्था छैन । शक्ति सन्तुलनको कुरा पहिले नै निश्चित थियो । मुख्यमन्त्री को हुने र शक्ति समीकरण कसरी बनाउने भन्ने दुवै पार्टीका नेताले तय गर्नेछन् । आवश्यक परेमा अमित शाह यही आउनेछन् ।’

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले मुख्यमन्त्री पद र सरकार बनाउने बारेमा शिवसेनासँग भएको सहमतिअनुसार अघि बढ्ने बताए । प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्र र हरियाणा दुवै राज्यमा फडणवीस र मनोहरलाल नै मुख्यमन्त्री रहने संकेत गरेका छन् ।

Featured