देश

सन्तोषजनक छैन तिहारको व्यापार !

काठमाडौं, कात्तिक ८–देशकै मुख्य व्यापारिक केन्द्र नारायणगढमा तिहारको व्यापार त्यति सन्तोषजनक नहुने देखिएको छ । बढ्दो महँगी, विश्वव्यापी आर्थिक मन्दीलगायतका कारणले तिहारको व्यापार सन्तोषजनक नहुने भन्दै व्यवसायीले चिन्ता गरेका छन् ।

सुनचाँदी सुस्त
तिहारमा सबैभन्दा बढी व्यापार सुन र चाँदीको हुने गर्दछ तर यस वर्ष मूल्यवृद्धिका कारण यस व्यापारमा ह्रास आएको छ । सुनचाँदी व्यवसायी सङ्घ चितवनका पूर्वअध्यक्ष विपिन रामुदामु सुनको मूल्यवृद्धिसँगै तिहारको कारोबारमा गिरावट आउने बताउँछन्।

सवारी कारोबार पनि कम हुने
तिहारमा बढी कारोवार हुने सवारीसाधन पनि हुन् । लक्ष्मी पूजा र धनतरेसका दिन नयाँ सवारीसाधन खरिद गर्ने प्रचलन बढ्दो छ तर बढ्दो आर्थिक मन्दी र घरजग्गामा आएको गिरावटले गर्दा तिहारमा सोचे जति सवारीसाधन पनि खरिद बिक्री हुने अवस्था देखिँदैन । अघिल्ला वर्षहरूमा तिहारका बेलामा जिल्लामा साना ठूला गरी एक सयभन्दा बढी सवारीसाधन खरिद बिक्री भए पनि यो वर्ष त्यो पुग्नै गाह्रो हुने बताइन्छ ।

खाद्यको पनि कारोबार घट्यो
यस्तै खाद्यान्नका वस्तुमा घिउ, तेल, चिनी, मैदा, आँटा, चामल, मरमसलालगायतका वस्तु मात्रै तिहारको बेला नारायणगढमा १५ करोड रुपियाँ बराबरको कारोबार हुने अनुमान छ । साल्ट ट्रेडिङ लिमिटेड नारायणगढका प्रमुख बुद्धिविनोद दाहाल अघिल्ला वर्षको तुलनामा यो वर्ष घिउ, तेल, चिनीको कारोबार पनि घटेको बताउँछन्।

फूलको व्यापार सन्तोषजनक
तिहारमा आवश्यक पर्ने अर्को वस्तु सयपत्री र मखमली फूल हो । यो वर्ष चितवनमा फूलको माला भने मागअनुसार पूरा हुने बताइन्छ । किसान आफैँले उत्पादन गरेका कारण पनि फूलमा नेपालीले राहत महसुस गर्दैछन् । चितवनमा यस वर्ष ६० हजार सयपत्री र २५ हजार मखमलीको माला उत्पादन भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाका अध्यक्ष प्रकाश पन्त भन्छन्, यो वर्ष तिहारमा सयपत्री र मखमली माला आयत गर्नुपर्ने अवस्था छैन । यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

Featured