NRNA खबर देश

गैरआवासीय नेपाली संघ(एनआरएनए) र उद्योग परिसंघले सहकार्य गर्ने

काठमाडौं, कात्तिक ७–गैरआवासीय नेपाली संघ र र नेपाल उद्योग परिसंघले एक आपसमा सहकार्य गर्ने भएका छन्। दुवै संस्थाका पदाधिकारीबीच आज भएको छलफलपछि उक्त समझदारी भएको हो। छलफल विशेषगरी नेपालमा लगानी प्रवद्र्धन, विदेशबाट ज्ञान सीप प्रविधि हस्तान्तरण र गैरआवासीय नेपालीलाई नेपालको आर्थिक विकासमा सहभागी बनाउने बारे केन्द्रित रहेको गैरअवासीय नेपाली सङ्घले जानकारी दिएको छ।

छलफलमा नेपाल उद्योग परिसङ्घका तर्फबाट संयुक्त सहकार्यको विषयमा गैरआवासीय नेपाली सङ्घसँग साझा कार्यसूची बनाएर अगाडि बढ्ने र एक अर्काको चासोलाई सम्बोधन गर्ने विषय समावेश गरिएको थियो। बैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपाल उद्योग परिसङ्घसँग मिलेर काम गर्न र परिणाम देखाउन आफु इच्छुक भएको बताउनुभएको थियो।

सो अवसरमा दुई संस्थाबीच सहकार्य गर्ने सम्बन्धमा एक सहमतिपत्रमा हस्ताक्षरसमेत भएको छ। सहमतिपत्रमा गैरआवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त र नेपाल उद्योग परिसङ्घको तर्फबाट अध्यक्ष सतिशकुमार मोरले हस्ताक्षर गरेका छन्। (रासस)

Featured