देश

मोटरसाइकल चोरी गर्ने पक्राउ

काठमाडौं, कात्तिक ७–कैलालीको बर्दगोरिया गाउँपालिकाबाट एक जना मोटरसाइकल चोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बर्दगोरिया गाउँपालिका– १, मुडा टोल बस्ने २४ वर्षीय सोनु नेपालीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार कात्तिक १ गते बर्दगोरिया गाउँपालिका– २ का कैलाश चौधरीको से ३ प ४८२४ नम्बरको हिरो होण्डा स्प्लेण्डर मोटरसाइकल सोही ठाउँका सन्तोष चौधरीको घर आँगनमा पार्किङ गरी राखेको अवस्थामा चोरी भएको थियो ।

मोटरसाइकल खोजी गर्दै जाँदा इलाका प्रहरी कार्यालय सडकपुर बौनियाको प्रहरी टोलीले मुडाका सोनु नेपालीले चलाइराखेको अवस्थामा बुधबार साँझ बौनिया बाजारबाट मोटरसाइकल र उनलाई नियन्त्रणमा लिएको हो । मोटरसाइकल र चोरलाई नियन्त्रणमा लिइएको मोटरसाइकल धनीलाई जानकारी गराइसकिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Featured