देश

वातावरणीय न्यायका लागि सगरमाथा आधार शिविरमा भोक हड्ताल

काठमाडौं, कात्तिक ७–वातावरणीय न्यायको माग गर्दै ४ युवाले ५ हजार ३ सय ६४ मिटर उचाईमा अवस्थित सगरमाथा आधार शिविरमा भोक हड्ताल गरेका छन् । इटहरीका पत्रकार विराट अनुपम, निजामती कर्मचारी सुरेश कार्की, राजनीतिकर्मी भीमप्रसाद सुवेदी र उद्यमी सन्तोष निरौलाले बुधबार बिहान १० बजेदेखि ४ घण्टा भोक हडताल गरेका हुन् ।

पदयात्रा गर्दै आधार शिविर पुगेको सो टोलीले २४ घण्टे भोक हड्ताल गर्ने योजना भए पनि प्रतिकुल मौसमका कारण ४ घण्टामा छोट्याएको थियो । हिमपातका कारण हड्ताल बीचैमा टुङ्ग्याउनु परेको टोलीका प्रवक्ता पत्रकार अनुपमले बताए ।

जलवायु परिवर्तनलाई न्यायोचित सम्बोधन गर्न भएको सन २०१६ को पेरिस सम्झौता, नेपाल सरकारले जलवायु परिवर्तन बारेमा सन २०२० मा गर्न लागेको सगरमाथा संवाद र प्रदेश १ सरकारले बनाउने घोषणा गरेको नेपालको होचो स्थान झापाको केचनादेखि सगरमाथासम्मको इको फास्ट ट्याकको समर्थनको लागि पनि आधार शिविरमा भोकहड्ताल गरिएको उनले जानकारी दिए ।

Featured