देश

त्रिविको रजिष्ट्रार, भीसी र रेक्टरको कार्यकक्षमा तालाबन्दी

काठमाडौं, कात्तिक ७–अनुचित ढंगले जनप्रशासन केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्ति गरेको आरोप लगाउँदै स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का अधिकारीहरूको कार्यकक्षमा तालाबन्दी गरेका छन् । युनियन र संघको जनप्रशासन इकाइका प्रतिनिधिले जनप्रशासन विभागका प्रमुखको कार्यकक्षसहित त्रिविको रजिष्ट्रार, उपकुलपति र रेक्टरको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

विगतमा प्राध्यापकलाई नै विभागीय प्रमुख बनाउने प्रचलनलाई तोडेर उपप्राध्यापकलाई निमिक्त प्रमुख बनाइएको भन्दै संघको जनप्रशासन क्याम्पस इकाई आन्दोलित भएको हो । त्रिविले निमित्त प्रमुख प्राध्यापक यशोधा काफ्लेको तीन महिने कार्यकाल सकिएपछि उपप्राध्यापक हरिभक्त शाहीलाई निमित्त प्रमुख नियुक्त गरेको छ । यो नियुक्तिसँगै विद्यार्थीहरू आन्दोलित भएका हुन् ।

वरिष्ठतम प्राध्यापकलाई विभागीय प्रमुख नियुक्ति गर्नुपर्ने, एउटै व्यक्ति दुईवटा संस्थाको प्रमुख राख्न नहुने र विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने मागसहित तालाबन्दी गरिएको संघको इकाइ अध्यक्ष सुदीप श्रेष्ठले बताए । माग पुरा नभए थप आन्दोलनका कार्यक्रम अगाडि बढाइने श्रेष्ठले बताए । तालाबन्दीमा स्वतन्त्र विद्यार्थी युनियनको तर्फबाट तारताम थापाको टोली पनि संलग्न छ ।

प्राध्यापकहरू पनि नियुक्तिप्रति असन्तुष्ट रहेका बताइएको छ । उनीहरूले त्रिविमा नयाँ पदाधिकारी नियुक्तिको केही दिनअघि गरिएको नियुक्ति गलत मनशायबाट गरिएको भन्दै आक्रोश पोखिरहेको एक प्राध्यापकले बताए ।

Featured