देश

स्वास्थ्य संस्थामा सुत्केरी :भत्तासँगै आयोडिनयुक्त नुन र खानेतेल प्रदान

जाजरकोट, कात्तिक ७–कुनै समय असुरक्षित तरिकाले घर, खेत र मेलापातमै बच्चा जन्माउने नलगाड नगरपालिका–३ का महिलाहरु अहिले भने स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने गरेका छन् । असुरक्षित तरिकाले सुत्केरी हुँदा अकालमा ज्यानै जान थालेपछि गर्भवती महिला स्वास्थ्य संस्थामा आएर सुरक्षित तरिकाले सुत्केरी हुन थालेका हुन् ।

जनचेतनाको विकासका साथै सङ्घीय सरकार र स्थानीय सरकारले यातायात खर्चका साथै खानेतेल दिन थालेपछि स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको सङ्ख्या ह्वात्तै बढेको हो । सरकारले स्वास्थ्य संस्थामा आएर सुत्केरी हुँदा यातायात खर्च दुई हजार र चारपटक गर्भ जाँच गराउँदा थप रु ८०० भत्ता दिने गरेको छ । नलगाड नगरपालिकाले स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने महिलालाई थप रु एक हजार भत्ता दिने गरेको छ ।

भत्ताका साथै नगरपालिकाले सुत्केरी महिलालाई डेढ लिटर खानेतेल, आयोडिनयुक्त नुन एक केजी, साबुन, ब्रस, पेन्टी, प्याड, न्यानो कपडालगायतका सामग्री दिने गरेको छ । नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई डेढ लिटर खानेतेल, आयोडिनयुक्त नुन एक केजीसहित विभिन्न सामग्री उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ । नलगाड नगरपालिका–३ की २५ वर्षीया वृहस्पती पुनले चारपटक नियमित गर्भ जाँच, सुत्केरी हुन स्वास्थ्य संस्थामा आएर सुरक्षित तरिकाले सुत्केरी गराइन् । उनले एकमुष्ट रु तीन हजार ८००, डेढ लिटर तेल, नुन र अन्य सामग्री पाएको जानकारी दिए ।

उनले भने, “निममित गर्भ जाँच गराउँदा बच्चा बढेरनबढेको, उल्टो, सुल्टो अवस्था आदिका बारेमा जानकारी हुन्छ र ढुक्क होइन्छ ।” पहिलोपटक गर्भवती हुँदा नियमित गर्भ जाँच नगर्दा र घरमै असुरक्षित तरिकाले सुत्केरी हुँदा निकै दुःख पाएपछि आफू यसपटक झन् सचेत भएको उनले जानकारी दिए । पहिलोपटक सुत्केरी ब्यथा लागेको दुई दिनसम्म पनि बच्चा नजन्मेपछि सदरमुकाम खलङ्गा गएर बच्चा जन्माएको पीडा उनीसँग ताजै छ ।

Featured