देश

उपनिर्वाचनः विधानविपरीत उम्मेदवार छान्दै कांग्रेस

काठमाडौं, कात्तिक ६–नेपाली कांग्रेसले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनमा पार्टी विधानविपरीत उम्मेदवार छनोट गर्ने तयारी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधबार दिउँसो ३ देखि साँझ ६ बजेसम्म बसेको पदाधिकारी बैठकले १४ मंसिरमा ५२ स्थानमा हुने उपनिर्वाचनको उम्मेदवार छनोटको अधिकार विधानविपरीत पदाधिकारी आफैंले लिने सहमति भएको हो ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बस्ने बैठकमा ५२ स्थानमा हुने उपनिर्वाचनको उम्मेदवार छान्ने अधिकार पदाधिकारीलाई नै दिने प्रस्ताव लैजाने सहमति भएको एक पदाधिकारीले बताए । तर, कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने पदाधिकारीलाई उम्मेदवार छान्ने अधिकार दिने निर्णय केन्द्रीय कार्यसमितिले दिनुपर्ने बताए ।

‘उपनिर्वाचनका लागि सम्भावित उम्मेदवार तीन जनाको नाम सिफारिश गरी पठाउन पार्टीले निर्देशन दिएको हो । तर, सबै स्थानीय तह र जिल्लाले त्योभन्दा धेरैको नाम पठाए’, सहमहामन्त्री डा. महतले शिलापत्रसँग भने, ‘अब केन्द्रीय कार्यसमिति बैठकले पदाधिकारीलाई नै उम्मेदवार छान्ने अधिकार दिन्छ होला ।’

कांग्रेस विधानको दफा ३३ को उम्मेदवारीबारे अन्य व्यवस्थाको प्रावधान राखिएको उपदफा १ का ‘कुनै पनि तहको प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ता हुने मितिभन्दा एक महिनापूर्व अन्तिम निर्णय गरिसक्नुपर्नेछ’ भन्ने उल्लेख गरिएको छ ।

निर्वाचन आयोगले १४ मंसिरमा हुने उपनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी दर्ता गर्ने मिति २१ कात्तिक भनी निर्धारण गरेको भने स्थानीय तहको उम्मेदवारी दर्ता गर्ने मिति २७ कात्तिकमा तोकेको छ ।

गाउँ नगर वडाका अध्यक्ष र सदस्यको उम्मेदवारको छनोट प्रतिनिधिसभा संसदीय कार्यसमितिले, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको छनोट जिल्ला संसदीय समितिले, नगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवारको छनोट प्रदेश संसदीय समितिले गर्नुपर्ने कांग्रेसको विधानको दफा ३२ मा उल्लेख छ ।

त्यस्तै, प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यको उम्मेदवारको छनोट भने केन्द्रीय संसदीय समितिले गर्ने वैधानिक प्रावधान छ । तर, कांग्रेसले हालसम्म कुनै पनि तहको संसदीय समिति गठन गरेको छैन । २०७४ को स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनको बेला गठन गरिएको संसदीय समिति गत वर्ष भंग गरिएको थियो ।

कांग्रेस विधानले परिकल्पना गरेको प्रदेश कार्यसमिति अझै गठन हुन सकेको छैन । १४ मंसिरमा हुने उपनिर्वाचन कास्की– २ मा प्रतिनिधिसभा सदस्यका लागि, भक्तपुर १ को ‘क’, बागलुङ २ को ‘ख’ र दाङ ३ को ‘ख’ मा निर्वाचन हुँदैछ । त्यस्तै, धरान उपमहानगरपालिका र अन्य नगरपालिका तथा गाउँपालिका र वडामा गरी ४८ स्थानीय तहमा निर्वाचन हुँदैछ ।

कांग्रेस पदाधिकारीको सो बैठकले संवैधानिक परिषद्को बैठकमा संवैधानिक अंगका पदाधिकारीको चयन गर्दा स्वच्छ र निष्पक्ष ढंगले गर्न विपक्षी दलको नेताको हैसियतले अघि बढ्न सभापति देउवालाई आग्रह गरिएको सहमहामन्त्री डा. महतले जनाए ।

Featured