देश

१० बजेपछि देउसीभैलो खेल्न नपाइने

काठमाडौं, कात्तिक ६–तिहार नजिकिँदै जाँदा उपत्यकामा प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । देउसीभैलो, जुवातास, पटकालगायत विभिन्न संवेदनशील विषयमा प्रहरीले नियमन गर्ने भएको हो । तिहारको अवसर पारेर भारतहुँदै पटकाजस्ता विस्फोटक पदार्थ भित्रिने भएकाले उपत्यका भित्रिने सबै नाकाहरुमा कुकुर सहितको चेकजाँच टोली खटाइएको छ ।

त्यस्तै, तिहारमा ठूलो हारजीत हुनेगरी जुवातास खेल्नेहरुलाई नियन्त्रणमा लिन सादा पोशाकका प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिएका छन् । तिहारको समयमा भिडभाड बढी हुने व्यापारिक क्षेत्र तथा बसपार्क एरियामा पनि थप जनशक्ति परिचालन गरिएको सुवेदीले बताए ।

राति १० बजेपछि देउसीभैलो बन्द
तिहारको अवसरमा रमाइलोका लागि खेलिने देउसीभैलो राति १० बजेसम्म मात्र खेल्न पाइने काठमाडौं प्रहरीले जनाएको छ । १० बजेपछि देउसीभैलो खेलेमा वा पैसा तोकेर मागेमा कानुन अनुसार कारबाही हुने पनि एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । कनै पनि ठाउँमा तिहार विशेष कार्यक्रम गर्नुपरे जिल्ला प्रसाशनबाट अनुमति लिएर मात्र कार्यक्रम सञ्चान गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

यसैगरी, ट्राफिक प्रहरी महाशाखालेसमेत ३ सय ६८ स्थानहरुमा नियमित ड्युटीका लागि ७ सय ५० जनशक्ति परिचालन हुनेमा तिहार र छठ पर्वको अवसरमा थप ४ सय ३० ट्राफिक प्रहरी जनशक्ति परिचालन गरिएको जनाएको छ ।

Featured