देश

सेवासुविधा बढाउने सहमतिपछि आर्यघाटका कर्मचारीहरुको आन्दोलन फिर्ता

काठमाडौं, कात्तिक ६–आर्यघाटमा शव जलाउने लगायतका कार्यमा संलग्न घाट सेवा केन्द्रका कर्मचारीहरुले आज बिहान घोषणा गरेको आन्दोलन फिर्ता लिएका छन् । उनीहरूले वर्षाैंदेखि आफूहरूको पारिश्रमिक नबढेकाले सेवासुविधा वृद्धिको माग राखी बुधबार बिहानदेखि शव दाहलगायत घाटका कुनै पनि काम नगर्ने घोषणा गरेका थिए ।

पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र घाट सेवा केन्द्रका प्रतिनिधिबीच भएको वार्तामा सहमति जुटेपछि आन्दोलन फिर्ता भएको हो । सहमतिअनुसार, घाट सेवा केन्द्रका कर्मचारीहरूको सेवासुविधा वृद्धि हुने भएको छ । वार्ता सहमतिमा टुंगिएको र आन्दोलन पनि फिर्ता भएको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले बताएका छन् ।

यस्तो छ सहमति 
सदस्यसचिव ढकालका अनुसार एउटा शव जलाएवापत पाउने रकम १२ सय रुपैयाँबाट १५ सय र औषधि उपचार खर्च पाँच हजारबाट १५ हजार रुपैयाँ र्पुयाइने सहमति भएको छ । घाटका कर्मचारीले अवकास पाउँदा उपदानवापत एकमुष्ट पाँच लाख रूपैयाँ पाउने भएका छन् । यसअघि यो रकम डेढ लाख रुपैयाँ थियो । सहमतिमा कर्मचारीको दुई लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गर्ने पनि उल्लेख छ ।

Featured