खेलकुद विदेश

डिबालाको गोलमा युभेन्टस विजयी, रियलले जित्दा जिदानेको संकट र्गयो

एजेन्सी, कात्तिक ६–पाउलो डिबालाले दुई गोल गरेपछि च्याम्पियन युभेन्टसले च्याम्पियन्स लिग फुटबलमा लोकोमोटिभ मस्कोलाई २–१ ले हराएको छ । पहिलो हाफमा १–० ले पछि परेको युभेन्टसका लागि डिबालाले ७७ औं र ७९ औं मिनेटमा गोल गरेका थिए । खेलको ३० औं मिनेटमा अल मिरान्चुकको गोलबाट लोकोमोटिभले अग्रता लिएको थियो । तर दोस्रो हाफमा उसले अग्रता जोगाउन सकेन ।

जितपछि समूहको शीर्ष स्थानमा रहेको युभेन्टसले तीन खेलबाट सात अंक जोडेको छ । समूह डी कै अर्को खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले बायर लेभरकुजनलाई १–० ले पराजित गरेको छ । एथ्लेटिकोको पनि समान खेलबाट ७ अंक भएको छ । समूह ए अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले जारी सिजनको च्याम्पियन्स लिगमा पहिलो जित निकालेको छ ।

जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियलले टर्कीस क्लब गालाटासारेलाई १–० ले पराजित गरेको हो । उसको जितमा इडेन हाजार्डको पासमा टोनी क्रुसले १८ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । ला लिगाको पछिल्लो खेलमा मार्लोकासँग १–० ले पराजित भएको रियलले च्याम्पियन्स लिगको जारी सिजनमा जित निकाल्न सकेको थिएन । यो जितले जिदानलाई ठूलो संकटबाट बचाएको छ ।

तीन खेलबाट चार अंक जोडेको रियल मड्रिड समूहको दोस्रो स्थानमा पुगेको छ र शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले ९ अंक जोडेको छ । पीएसजीले केलियन एम्बाप्पेको ह्याट्रिकको मदतले गएराति क्लब ब्रुगमाथि ५–० को जित निकाल्यो । उसका लागि थप दुई गोल माउरो इकार्डीले गरेका थिए ।

Featured