पोखरा, कात्तिक ५–१३औं दक्षिण एसियाली खेलकुद (साग) को मिति नजिकिएसँगै पोखरामा खेलसँग सम्बन्धित पूर्वाधारहरूको निर्माण तीव्ररूपमा अगाडि बढेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १५ कात्तिकभित्र आवश्यक पूर्वाधार तयार गर्न निर्माण कम्पनीलाई निर्देशन दिएसँगै पोखरा रंगशालालगायत विभिन्न स्थानमा आयोजना हुने सागका ९ खेलका लागि आवश्यक पूर्वाधारहरूको निर्माण द्रुत रूपमा अगाडि बढेको हो ।
प्रतियोगिता आगामी १ डिसेम्बर (१५ मंसिर) देखि १० तारिख (२४ मंसिर) सम्म सञ्चालन हुनेछ । पोखराले सागका लागि ९ खेल आयोजना गर्ने जिम्मेवारी पाएको छ । सागका लागि बिच भलिबलको आयोजना हुने स्थान फेवातालको किनारमा भलिबलको कोर्ट निर्माण कार्य द्रुत रूपमा अगाडि बढेको छ ।
बिच भलिबल प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ५२ लाख रुपैयाँ विनियोजन भएको छ । फेवातालको माटो (पाँगो बालुवा) निकालेर तालकै किनारमा रहेको बाराही खेल मैदानमा कोर्ट निर्माण थालिएको छ । खेल मैदानको पश्चिमतर्फ खाल्टो परेको जमिनमा बालुवा भरेर सम्याइएको छ ।
खाल्टो भर्न करिब ४ सय ट्रिप बालुवा खन्याइसकिएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए । ‘मैदान पूरै सम्याउन अझै ३ सय ट्रिप बालुवा खन्याउनुपर्छ । यसलाई साग अघि नै निर्माण सम्पन्न गरिसक्नुपर्छ,’ उनले भने, ‘तालबाट माटो (पाँगो बालुवा) निकालेर जमिन सम्याउने काम भइरहेको छ ।’
अध्यक्ष पराजुलीका अनुसार जमिन सम्याइसकेपछि मसिनो छानेको बालुवा राखेर मैदानलाई अन्तिम रूप दिइनेछ। खेल मैदान नेपाल ट्रष्टको स्वामित्वमा छ । नेपाल आर्मीले संरक्षण गर्दै आएको छ । मैदानभित्र तीनवटा कोर्ट बनाइने उनले सुनाए । ‘एउटा पहिले नै बनाइएको कोर्ट छ । नयाँ तीनवटा कोर्ट तयार पार्नेछौं,’ उनले भने, ‘कोर्टसँगै शौचालय र चेन्जिङ रूम पनि निर्माण गरिनेछ ।’
अध्यक्ष पराजुलीले दुई हप्ताभित्रमा काम सकिने र पुरानो कोर्टलाई पनि मर्मत सम्भार गरिने बताए । ‘अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धाका लागि चारवटा कोर्ट चाहिन्छ,’ उनले भने, ‘त्यहीअनुसार तीनवटा नयाँ कोर्टसहित ४ कोर्ट निर्माण गर्न लागिएको हो ।’
प्रतिक्रिया दिनुहोस