देश

भन्सार छलेर ल्याएको मिठाइसहित २ पक्राउ

धनगढी, कात्तिक ४–भन्सार छलेर ल्याएको मिठाईसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । सोमबार प्रहरीले धनगढी उपमहानगरपालिका–८ बाट हेमन्त नेपाली र रमेशबहादुर धामीलाई पक्राउ गरेको हो ।

भारतबाट भन्सार छली साइकलमा मिठाई ल्याइरहेको अवस्थामा प्रहरीले हेमन्त नेपालीलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार पक्राउ परेका नेपालीलाई सोधपुछ गर्दा वडा नम्बर ८ मा डेरा गरी बस्ने रमेशबहादुर धामीले मिठाई मगाएको भनी बताएका थिए ।

त्यसलगत्तै सो स्थानमा प्रहरी टोली गएर खान तलासी गर्दा २ कोठे कच्ची घरभित्र १ सय ७५ पेटी सोनपापडी, ८ पेटी पेडा, ४५ पेटी मिल्क केक र मिठाई प्याक गर्ने कागजसहित धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बरामद गरिएको मिठाइमा उत्पादन मिति र अन्तिम मितिसमेत नरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रकाश कार्कीले बताए । थप कारबाहीका लागि मिठाइ र पक्राउ परेका दुवैलाई भन्सार कार्यालय कैलाली बुझाइएको उनले बताए ।

Featured