देश मनोरंजन

दुर्गेश थापाको गीतविरुद्ध उजुरी, युट्युबबाट हटाउन दबाब

काठमाडौं, कात्तिक ४–गायक दुर्गेश थापाले तिहारको अवसरमा निकालेको ‘ह्याप्पी तिहार चिसो बियर…’ बोलको गीत विवादमा तानिएको छ । उक्त गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश समावेश भएकाले त्यसलाई युट्युबबाट हटाउनुपर्ने भन्दै उजुर परेको हो ।

गीतमा तिहारको बेला बियर खानुपर्ने प्रचार गरेका कारण सामाजिक सञ्जालमा पनि गीतको चौतर्फी आलोचना भइरहेको छ । प्रशासनको आग्रहमा गायक दुर्गेश थापाको खोजी भइरहेको महाशाखाका एसएसपी सहकुल थापाले शिलापत्रलाई जानकारी दिए ।

कानुनी रुपमा प्रतिबन्धित गाँजा खानुपर्छ भन्दै गीत गाएपछि दुर्गेशविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको हो । गायक थापालाई सम्पर्कमा ल्याएर प्रशासनमा बुझाइने एसएसपी थापाले जानकारी दिए ।

उजुरीको कारबाहीका लागि प्रशासन कार्यालयले महानगरीय अपराध महाशाखा टेकुलाई गायक दुर्गेश थापालाई झिकाउन निर्देशन दिएको छ । प्रशासन कार्यालयले निवेदकको माग अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

‘दुर्गेश थापासँग हाम्रो सम्पर्क भयो । उनले आफू झापामा रहेको बताएका छन् । भोलि काठमाडौं आएपछि आफैं प्रहरी परिसरमा आउने उनले प्रतिबद्धता व्यक्त गरेका छन्,’ एसएसपी थापाले बताए । हाल गायक थापाले युट्युबमा सो गीतमा कमेन्ट गर्ने विकल्प बन्द गरे पनि गीत भने हटाएका छैनन् ।

Featured