देश

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास आज

काठमाडौं, कात्तिक ४–काठमाडौंको नागढुंगा देखि धादिङकोृ सिस्नेखोलासम्मको सुरुङमार्गको शिलान्यास आज गरिदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । सडकतर्फ पहिलो पटक सुरुङमार्ग निर्माण हुन लागेको हो । सुरुङमार्ग निर्माणका लागि ६ असोजमा सडक विभाग र जापानी निर्माण कम्पनी हाज्माअन्द्रोबीच सम्झौता भएको थियो।

विभागले निर्माण तयारीका लागि दिएको एक महिनाअघि नै ठेकेदार कम्पनी काम गर्न तयार भएपछि शिलान्यास गरिन लागेको हो । सो सुरुङमार्ग न्यु अष्ट्रियन टनेलिङ मेथड (एनएटिएम) प्रविधबाट निर्माण हुनेछ। सुरुमा टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिने चर्चा गरिए पनि सुरुङमार्गको दूरी छोटो भएका कारण एनएटिएम प्रविधि प्रयोग गर्न लागिएको हो । सम्झौताअनुसार सो सुरुङमार्गको निर्माणकार्य ४२ महिनामा पूरा हुनुपर्नेछ । सुरुङमार्ग निर्माणका लागि १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

यद्यपि ठेकेदार कम्पनीसँग १३ अर्ब ५० करोड रुपैयाँमा सम्झौता भएको छ। सुरुङमार्ग अनुगमनका लागि करिब एक अर्ब रुपैयाँ छुट्याइएको छ । सम्झौता अनुसार चन्द्रागिरि नगरपालिकास्थित टुटेपाखादेखि सिस्नेखोलासम्म दुई वटा सुरुङ निर्माण हुनेछन्। नियमित सवारी सञ्चालनका लागि साढे नौ मिटर चौडाइको र आपतकालीन अवस्थाका लागि चार मिटर चौडा गरी दुई सुरुङमार्ग निर्माण गरिनेछ । दुबै सुरुङमार्गको लम्बाई २.७ किलोमिटर हुनेछ । यो सुरुङमार्गले काठमाडौं भित्रिने र बाहिरिने यात्रुलाई सहजता हुनेछ भने नागढुंगादेखि सिस्नेखोलासम्मको घुमाउरो सडकको चार किलोमिटर दूरी घट्नेछ।

Featured