देश

क्याम्पस स्थापनाका लागि महायज्ञ

सुर्खेत, कात्तिक ३–चौकुने गाउँपालिकामा कर्णाली कृषि तथा वन विज्ञान क्याम्पस स्थापनाका लागि महायज्ञ आयोजना गरिने भएको छ । आईतबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रचारप्रसार उपसमितिले महायज्ञ आयोजनाको विषयमा जानकारी दिएको छ ।

महायज्ञ यही कार्तिक २२ देखि २९ गतेसम्म चौकुने गाउँपालिकाको विशालबजारमा सञ्चालन हुने भएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतले चौकुने गाउँपालिकाको गुटुमा क्याम्पस स्थापनाको लागि सम्बन्धन दिइसकेको छ । यसलगत्तै २०७५ साल भदौमा २३ सदस्यीय सञ्चालक समिति गठन भई कामसमेत अगाडि बढाएको अध्यक्ष मोहनसिं बडुवालले बताए ।

उनले स्थानीय तह तथा जनस्तरबाट करिब ४२ लाख रुपैयाँको प्रतिवद्धता भएको तर त्यो रकम अपुग हुने भएकाले महायज्ञ सञ्चालनको तयारी गरिएको बताए । उनका अनुसार जनस्तरबाट करिब ८ बिगाह जग्गा विश्वविद्यालयका नाममा बनाउन र अन्य पूर्वाधारको कामसमेत अगाडि बढाउनको थप रकम आवश्यक परेको हो ।

उनका अनुसार स्थानी धामीडाँडा वन उपभोक्ता समितिले ४० विगाह जग्गा उपलब्ध गराएको छ । सिङ्गो कर्णाली प्रदेशका लागि नै चौकुनेमा स्थापना हुन लागेको यस क्याम्पसले शिक्षा क्षेत्रमा सम्वृद्धि ल्याउने अध्यक्ष बडुवालले बताए । महायज्ञमा प्रति कलश ११ सय रुपैयाँका दरले करिब ११ सय कलश विक्री गर्ने, एकसय जेष्ठ नागरिकलाई तुलादान गर्ने, व्रतवन्ध, चौरासी पूजा लगायतबाट करिब ५ करोड आम्दानी हुने आयोजकको अपेक्षा छ । महायज्ञ सञ्चालनमा करिब ३० लाख खर्च अनुमान गरिएको छ ।

पारदर्शी ढंगले महायज्ञ सञ्चामलन गरिने आयोजकको दावी छ । अध्यक्ष बडुवालले भने, ‘महायज्ञ सकिएलगत्तै सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिनेछ ।’ विकास शहरमा मात्रै नभई गाउँमा पनि गरे जनताले विकासको वास्तविक अनुभूति गर्नसक्ने बडुवालको भनाइ थियो ।

Featured