देश

पहिले आत्मनिर्भर, अहिले परनिर्भर

जुम्ला, कात्तिक ३–तिला गाउँपालिका–२ का सम्पती रावत ७० वर्षका भए। स्थानीय कृषि उत्पादनप्रतिको पुरानो लगाब र मेहनत उनले भुल्न सकेका छैनन्। उनी भन्छन्, ‘पहिले जुम्ली परिवेश निकै आत्मनिर्भर थियो। अहिले परनिर्भरता बढ्दै गएको छ।’ रावतका अनुसार जुम्ला पहिले लुगामा आत्मनिर्भर थियो। खाने चिज आयात गर्नुपर्ने अवस्था थिएन।

पशुबस्तुका लागि चरन क्षेत्र पर्याप्त थियो। घरवरिपरि घना जंगल हुन्थ्यो। अहिले आयातित लुगा र खाद्यान्नले स्थानीय उत्पादन दिनानुदिन घट्दै गइरहेको छ। गाउँगाउँमा भेडापालन मौलाउँदो थियो। भेडाबाख्राको ऊनबाट बक्खुलगायत लुगा बुनिथ्यो। ती लुगा निकै न्याना हुन्थे। चिसो र तातो दुवै मौसममा लगाउन अनुकूल मानिन्थ्यो।

नुनमा भने पहिला पनि जुम्ला परनिर्भर थियो। नुन ल्याउन एक महिना लगाएर नेपालगन्जसम्म पुग्नुपथ्र्यो। भेडा लिएर नुन ल्याउन भोटतिर पनि जान्थे जुम्ली। तेलका लागि गाउँमै तोरी फलाइन्थ्यो। आरु, ओखर र ढटेलोबाट तेल निकालिन्थ्यो। यहाँका मानिसले लगाउने लुगा सात ठाउँमा टालेको हुन्थ्यो। तर टालेको लुगाभित्र प्रत्येक टालोभित्र रुपैयाँ राखिन्थ्यो। त्यो रुपैयाँ निकै सुरक्षित मानिन्थ्यो। यसले जुम्ली त साहु हुन्छन् भन्ने सन्देश जान्थ्यो।

आफ्नै हातले ठेटुवाको लुगा बुनिन्थ्यो। पटुकादेखि बक्खु, सुरुवाल ऊनकै लगाइन्थ्यो। लुगाफाटो किन्न हाटबजार पुग्नु पर्दैनथ्यो। तर ती कपडा अहिले पाइँदैनन्। रावतले विगत सम्झँदै भने, ‘झन्डै दुई÷तीन दशकयता आधुनिक प्रकारका लत्ताकपडा भित्रिरहेका छन्। बहुदल आएपछि लुगाफाटो पनि बदलिँदै गयो। अहिले स्थानीयले शरीर नढाकिने गरी कपडा लगाउन थाले। आयातित विषादीयुक्त खानेकुरा खान थाले।’ यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured