राजनीति

आलम अभियोग : गगन थापाको कटाक्ष, देउवाले कुरा फेरे

काठमाडौं, कात्तिक २–अफ्ताव आलमको पक्राउलाई कांग्रेसविरुद्धको षड्यन्त्र भनेका सभापति शेरबहादुर देउवाले विज्ञप्ती निकाल्दै आफ्नो अभिव्यक्ति सच्याएका छन् । उता नेपाली कांग्रेसकै नेता गगन थापाले भने देउवाको प्रारम्भिक भनाईप्रति असन्तुष्टि जनाउँदै कटाक्ष गरेका छन्।

देउवाले नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा १२ वर्षअघिको मुद्दा ब्युँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको आरोप लगाएका थिए । तर, विज्ञप्ति मार्फत् उनले आफ्नो अभिव्यक्तिको अपव्याख्या भएर अन्यौल तथा अस्पष्टता सिर्जना भएको बताएका छन् ।

आफुले गम्भिर मुद्दामा ढिलासुस्ती हुँदा सत्यतथ्य अनुसन्धान गरि निर्दोष या दोषी पहिचानमा वाधा उत्पन्न हुने बताउन चाहेको विज्ञप्तीमा उल्लेख गरेका छन् । विज्ञप्तीमा आलममाथिको मुद्दामा कांग्रेसले पनि सहयोग गर्ने बताइएको छ ।

‘कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धाको विपक्षमा उभिन सक्दैन । मोहम्मद अफताव आलम माथिको मद्दामा कुनैपनि पूर्वाग्रह र दबाबमुक्त अनुसन्धानमा नेपाली कांग्रेसको सहयोग रहन्छ । निर्दोष दण्डित नहुने र दोषीले उन्मुक्ति पाउनु नहुने हाम्रो स्पष्ट मान्यता हो ।’ विज्ञप्तीमा उल्लेख छ ।

यस्तै, कांग्रेस नेता गगन थापाले भने देउवाले भक्तपुरमा दिएको अभिव्यक्तिको कटाक्ष गर्दै आज जारी विज्ञप्तीप्रति समर्थन जनाएका छन् । जुनसुकै अहोदामा पुगेको व्यक्तिले पनि अपराध गरेको भए दण्ड पाउनुपर्छ भन्दै थापाले कांग्रेस निष्पक्ष छानबिनको पक्षमा रहेको प्रष्ट्याएका छन् । यदि कसैले निष्पक्ष छानबिनको विपक्षमा प्रतिक्रिया दिए त्यो कांग्रेसको धारणा नभएर उसकै व्यक्तिगत धारणा हुने बताउँदै थापाले देउवाको प्रतिक्रियाप्रति कटाक्ष गरेका छन् ।

Featured