देश

पोखरा रंगशालाको काम ६० प्रतिशत सम्पन्न

पोखरा, कात्तिक २–पोखरा रंगशालाको निर्माण कार्य ६० प्रतिशत पूरा भएको निर्माण कम्पनीले जानकारी दिएको छ । १३औँ दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गरी रंगशालाको निर्माण कार्यलाई तीव्रता दिइएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर दीपक बरालले बताए ।

आगामी डिसेम्बर १ देखि १० तारिखसम्म सागअन्तर्गत पोखरामा हुने महिला फुटबल प्रतियोगिताको लागि स्टेडियम निर्माण समयमै सक्नेगरी काम भइरहेको उनले जानकारी दिए । दैनिक एक सय ८० जनासम्म मजदुरले काम गरिरहेको म्यानेजर बरालले बताए । ‘कामको अवस्था र प्रकृति हेरे राति साढे दश बजेसम्म काम गर्ने गरेका छौँ,’ उनले भने, ‘यो प्रोजेक्ट हाम्रो लागि अग्नि परीक्षा हो । तोकिएकै समयभित्र काम सकेर देखाउँछौँ ।’

निर्माणाधीन रंगशाला करिब १० हजार दर्शक क्षमताको हुनेछ । ‘अबको एक हप्ताभित्र दुबो रोप्ने काम पनि पूरा गछौँ,’ म्यानेजर बरालले भने । भारतको कलकत्ताबाट ल्याइएको बर्माडा ग्रास प्रजातिको २० हजार वर्ग्किलोमिटर दुबो रोप्ने काम धमाधम भइरहेको उनले बताए । उनका अनुसार केही दिनअघि लगातार पानी परेकाले दुबो रोप्ने र ट्रयाकमा पिच गर्ने काममा केही ढिलाइ भएको हो ।

चारवटा ग्यालरीमध्ये हाल दुई वटाको काम आगामी १५ दिनभित्र सक्ने लक्ष्य रहेको म्यानेजर बरालले बताए । १७ वटामध्ये हालसम्म ११ वटा शौचालय निर्माण अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

रंगशाला निर्माणको काम भारतको ग्रेट स्पोट्रस इन्फ्रा इन्डियाले नेपालको एमए कन्स्ट्रक्सनसँग ज्वाइन्ट भेन्चरमा एक अर्ब २८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । रंगशालाको काम तोकिएको समयमा नसके निर्माण कम्पनीहरुलाई कारबाही हुने राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले बताए । उनले भने, ‘हामीलाई विश्वास छ, निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर दीपक बराल पोखरेली भएको नाताले हाम्रो इज्जत र प्रतिष्ठासँग जोडिएको विषयमा उहाँ पनि सकारात्मक हुनुहुन्छ ।’ उनले काम तोकिएकै समयमा पूरा भएर निर्माण कम्पनीलाई सम्मान गरिने बताए ।

महिला क्रिकेटसहित पोखरामा ९ वटा खेल आयोजना हुने भएका छन् । २ देखि ९ डिसेम्बरसम्म महिला क्रिकेट, २८ नोभेम्बरदेखि ९ डिसेम्बरसम्म महिला फुटबल, २८ नोभेम्बरदेखि ४ डिसेम्बरसम्म ह्याण्डबलका प्रतियोगिताहरु सञ्चालन हुने तय भएको छ । प्याराग्लाइडिङ २९ नोभेम्बरदेखि ८ डिसेम्बरसम्म हुने राखेपले जनाएको छ । त्यसैगरी भारत्तोलन, बिच भलिबल, महिला फुटबल, ब्याडमिन्टन, ट्रयाथलन र आर्चरी पनि पोखरामा सञ्चालन हुने भएको हो ।

Featured