देश

एकदिनमै उप्कियो कालोपत्रे

बागलुङ, कात्तिक २–शुक्रबार दिउँसो बागलुङ सदरमुकामको रामरेखामा खैलाबैला मच्चियो । अघिल्लो दिन गरेको कालोपत्रे हातले समाउँदैमा उप्केपछि स्थानीय भेला भएर ठेकेदारको विरोध गरिरहेका थिए । उनीहरुको विरोध भइरहेकै बेला पत्रकार र नगरपालिका इन्जिनियरको टोली पुगेपछि स्थानीयले आफ्नो गुनासो सुनाउने अवसर पाए ।

बुधबार र बिहीबार रामरेखास्थित जसवीर टोलमा कालोपत्रेको काम भएको थियो । झन्डै १०० मिटरको यो खण्डको आधाजसो कालोपत्रे गरिएको छ । बाँकी खण्ड कालोपत्र गरिँदैछ । टोलका सामाजिक अगुवाले हातैले कालोपत्रे उप्काएर देखाएपछि नगरपालिकाका इञ्जिनियर मनोज शर्माले तत्काल ठेकेदारका प्रतिनिधिलाई फोन गरे ।

तिलक निर्माण सेवाले सदरमुकामका विभिन्न भित्री सडकको कालोपत्रे गर्नका लागि ठेक्का लिएको थियो । बागलुङ नगरपालिका र सडक बोर्डको संयुक्त लगानीमा निर्माणाधीन सडकको कालोपत्रे उप्किएको हो । उप्केको देखेपछि स्थानीयले हातैले कालोपत्रे उतारेर फालिदिएका छन् ।

कालोपत्र गर्नका लागि धुलो उडाएर पानीले पखालेपछि गिट्टीमाथि अलकत्रा राखेर कालोपत्रे राख्नुपर्नेमा धुलोमै राखेको भेटिएको इन्जिनियर मनोश शर्माले बताए । स्थानीयले गुनासो गरेपछि आफैँ पुगेर उक्त खण्डको छेउछेउको कालोपत्रे उप्काउन लगाएको उनले जानकारी गराए । कमजोर काम नगर्न पटकपटक दिएको निर्देशन पालना नभएको पनि तर्क गरे ।

नगरपालिका र सडक बोर्डको गरी ८२ लाख रुपैयाँको लागतमा भित्री सडक मर्मतका लागि असारदेखि नै काम भएको थियो । चाडपर्वका कारण रोकिएको काम तिहारभित्रै सक्ने गरी पुनः थालिएको थियो । उक्त घटना सार्वजनिक भएपछि नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले समेत काम गुणस्तरीय गर्न माग गरेका छन् ।

स्थानीय रणसिंह बोहोराले कालोपत्रे नउप्केको स्थानमा पनि लेबल नमिलाएको बताए । नालीको सतह बराबर बनाउनुपर्नेमा खाँडलैखाँडल छाडेको भेटिएको थियो । केही दिनअघि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले गरेको जनतासँग जनप्रतिनिधि कार्यक्रममा पनि बोहोराले सडक अलपत्र छाडिएको टिप्पणी गरेका थिए । कालोपत्रे गर्दाका खाल्डा पनि पुर्न लगाएर पानी सडकमा नजम्ने बनाउन लगाउने इन्जिनियर शर्माले प्रतिबद्धता जनाएका छन् ।

वडाध्यक्ष दुर्गाबहादुर बोहोराले पनि यो काम समयमै अनुगमन गर्न सकेकाले सच्याउन पाएको बताए । ‘केही दिनपछि थाहा पाएको भए ठेकेदार र कामदार हिँडिसक्थे, समयमै रोकेर भत्काउन पाइयो,’ उनले भने, ‘फेरि काम लगाएर गुणस्तरीय बनाउँछौँ ।’

बोहोराले बिहीबार दिउँसै काम कमसल भएको अनुमान लगाएर ठेकेदार र कामदारलाई सच्याउन सुझाव दिएको बताए । यसअघि गत आर्थिक वर्षमा नाली र आवश्यक संरचना नबनाइकन कालोपत्रे गर्दा जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरा जाने सडक पनि उप्किएको थियो । उक्त खण्डको झन्डै २०० मिटर कालोपत्रे उप्किएपछि डिजाइनमा समेत त्रुटि भएको निष्कर्ष निकालिएको थियो । (रासस)

Featured