देश

दुहबी–कटहरी ३३ केभी प्रसारण लाइनको विवाद मिल्यो, मोदी र घिसिङले मिलाए हात

विराटनगर, कार्तिक १– दुहबी–कटहरी ३३ केभी प्रसारण लाइनको विवाद समाधान भएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा शुक्रबार भएको छलफलमा स्थानीयको विरोधपछि रोकिएको दुहबी–कटहरी ३३ केभी विद्युत प्रसारण लाइन निर्माण ४५ दिनभित्रमा सक्ने सहमति भएको हो ।

मोरङको ग्रामथान गाउँपालिकास्थित गिदनीय टोलका स्थानीयले करिब तीन किलोमिटर तार तान्न नदिएपछि निर्माणमा भएको अवरोध हटेसँगै यो सहमति भएको हो। अवरोध हटाउन प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार त्यस क्षेत्रका संघीय सांसद अमनलाल मोदी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, गाउँपालिका अध्यक्ष, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेलगायतसँग छलफल गरेका थिए ।

छलफलमा प्रसारण लाइनको अवरोध हटाउन आवश्यक प्राविधिक पक्षको अध्ययन गरी ४५ दिनभित्रमा निर्माण सक्ने निर्णय गरिएको मुख्यमन्त्री राईले जानकारी दिए। मुख्य मन्त्री राईले निर्माणमा अवरोधपछि समस्या समाधान गर्न यसअघि मोरङ क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य अमनलाल मोदीसहित ग्रामथान गाउँपालिका अध्यक्ष, उद्योगी, व्यवसायीसँग छलफल गरेका थिए ।

शुक्रबारको छलफलमा संसद मोदीले यो प्रसारण लाइन निर्माणमा आफूले अवरोध नगरेको प्रष्ट पारे । उनले आफुले पैसा मागेर अवरोध गर्यो भनेर गलत आरोप लगाइएपनि त्यसो नभएको दावी गरे । उनले आफुले लाइन निर्माण गर्न निरन्तर सहयोग गरिरहेको भएपनि झुटो आरोप लगाइएको बताए ।

सो अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले त्यस क्षेत्रमा विद्युत् आपूर्तिलाई सुधार गर्न पहल गरिने बताए । प्राधिकरणले कहिले पनि प्रसारण लाइन निर्माणमा संघीय सांसद मोदीले पैसा मागेर अवरोध गरेको भनेर नभनेको प्रष्ट पार्दै सो कुरा सांसद मोदीका निर्वाचन क्षेत्रमै गएर भन्न पनि तयार रहेको बताए ।

ग्रामथाम गाउँपालिका अध्यक्षले प्रसारण लाइन निर्माणमा अवरोध नहुने बताए । प्रसारण लाइनको ग्रामथानको गिदनीय टोलमा ३ किलोमिटर क्षेत्रमा बाहेक सबै स्थानमा लाइन निर्माण भइसकेको छ । सबस्टेसन निर्माण भइसकेको छ । तीन किलोमिटर तार तानिसकिएपछि प्रसारण लाइन र सबस्टेसनको चार्ज गरी संजालमा ल्याइने जनाइएको छ ।

अहिले कटहरी क्षेत्रमा टंकीसिनबारी र विराटनगर रानी सबस्टेसनको ११ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति भइरहेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । टंकिसिसुवाी सबस्टेसन अब थप लोड धान्न सक्ने अवस्थामा छैन। दुहबी–कटहरीको ३३ केभी प्रसारण लाइन सञ्चालनमा आउना साथ कटहरी–रंगेली करिडोरमा देखिएको विद्युत् आपूर्तिको समस्या र विराटनगरमा समेत लो भोल्टेजको समस्या अन्त्य हुने नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश कमिटी सदस्य मृत्युञ्जयकुमार झाले. बताए ।

Featured