देश

चोरीमा संलग्न आमा–छोरा पक्राउ

जनकपुरधाम, असोज ३०–आधा दर्जनभन्दा बढी स्थानमा चोरी गरेका एक किशोर तथा चोरीको सामान लुकाउन सघाउने उनकी आमालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । राजविराज नगरपालिका–८ मा डेरा गरि बस्ने १६ वर्षिय सुरज (नाम परिवर्तन) र उनकी आमा सरितादेवि सरदारलाई प्रहरीले बिहिबार सार्वजनिक गरेको हो ।

उनीहरुको डेराबाट प्रहरीले विभिन्न ८ स्थानबाट चोरी गरिएका सामानहरु पनि बरामद गरेको थियो । बजार क्षेत्रमा चोरी गर्ने उद्देश्यले भाडा लिएर बसेका आमा–छोराको कोठाबाट प्रहरीले दुई थान मोबाइल, दुई थान मेमोरी कार्ड, दुई थान हेडफोन, पाँच थान चार्जर, ताला खोल्न प्रयोग हुने चाबीको झुप्पा तथा फाइटर र टेस्टर बरामद गरेको थियो ।

प्रहरीले उनीहरुलाई बुधबार नै पक्राउ गरेको हो । छोराले चोरेर ल्याएको सामान लुकाउन आमाले सघाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ । उनीहरु महदेवा गाउँपालिका–१ का स्थायी बासिन्दा रहेको प्रहरीले बताएको छ ।

चोरी भएको एक घरमा जडित सीसीटिभी क्यामेरामा चोरी गर्दै गरेको फुटेज कैद भएपछि त्यसैलाई पहिल्याउँदै प्रहरीले सूक्ष्म अनुसन्धान सुरु गरेको थियो । त्यही फुटेजका आधारमा गरिएको अनुसन्धानले उनीहरुलाई चोरीका सामानसहित पक्राउ गर्न सफल भएको सप्तरीका प्रहरी नायब उपरिक्षक तिलक भारतीले बताए । पक्राउ परेका आमा छोरा दुवैलाई जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरि प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Featured