देश

अब ‘एनओसी’ अनलाइनबाटै

काठमडौं, असोज ३०–वैदेशिक अध्ययनका लागि चाहिने ‘नो अब्जेक्सन लेटर’ (एनओसी) अब अनलाइनबाटै पाइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाबाट एनओसी लिने विद्यार्थीको संख्या बढेपछि एनओसी अनलाइनबाटै दिइन लागिएको हो ।

‘आगामी मंसिरदेखि अनलाइनबाट नो अब्जेक्सन लेटर दिने तयारी गरेका छौं,’ मन्त्रालयका उच्चशिक्षा महाशाखाका सहसचिव रामशरण सापकोटाले भने, ‘लेटर लिने विद्यार्थीको संख्या बढेपछि अनलाइनको व्यवस्था गर्न लागेका हौं ।’ एनओसी लिन चाहने विद्यार्थीले अनलाइनमा निवेदन भर्नुपर्ने हुन्छ । विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्ड र विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र, अफर लेटर र योग्यतालगायतका विषय अनलाइनबाटै पेश गर्नुपर्ने हुन्छ ।

एनओसीका लागि बुझाउनुपर्ने दस्तुर बैंकबाटै बुझाउने र भौचर पनि अनलाइनबाट पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । विद्यार्थीले पेश गरेको निवेदन विभिन्न युनिटले अनलाइनबाटै हेर्ने सहसचिव सापकोटाले बताए । विद्यार्थीले लिएको एनओसी मन्त्रालयले राष्ट्र बैंक र इमिग्रेसनमा समेत जानकारी गराउनेछ ।

‘विगतमा थोरै विद्यार्थी मात्र त्यस्तो लेटरका लागि आउँथे । अहिले दिनको चार÷पाँच सयको संख्यामा आउँछन्,’ सहसचिव सापकोटाले भने, ‘अब व्यवस्थापनमा पनि सहज हुने अपेक्षा गरेका छौं ।’ वार्षिक ६५ हजार विद्यार्थीले नो अब्जेक्सन लेटर (एनओसी) लिएको मन्त्रालयको तंथ्याकले देखाउँछ । तर, एनओसी लिएका सबै विद्यार्थीको भिसा लाग्छ भन्ने हुँदैन ।

Featured