देश

विश्वका सय प्रभावशाली महिलामा नेपालकी बोनिता शर्मा

काठमाडौं, असोज २९–बीबीसीले हरेक वर्ष विश्वका सय जना प्रभावशाली तथा प्रेरणादायी महिलाको सूची निकाल्ने गर्छ । बीबीसीले भर्खरै सार्वजनिक गरेको २०१९ को सूचीमा नेपालकी बोनिता शर्मा पनि परेकी छिन् ।

शिक्षा, नेतृत्व, रचनात्मकता, खेलकुदलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय काम गर्दै समाजमा प्रभाव पार्न सफल सय महिलालाई बीबीसीले समेटेको छ । स्वीडेनकी १६ वर्षीय मौसम परिवर्तन अभियन्ता ग्रेटा थनबर्गदेखि २१ वर्षको उमेरमा पुरुष कारागारमा कैद भएकी मलेसियाकी तेस्रोलिंगी महिला निशा अयुबसम्म बीबीसीको सो सूचीमा अटाएका छन् ।

बोनिता शर्मा नेपालमा शिक्षा, स्वास्थ्य तथा महिला सशक्तिकरणका क्षेत्रमा सक्रिय छिन् । उनले कुपोषणका कारण हुने शिशु मृत्यु न्यूनीकरणमा पनि उल्लेखनीय काम गरिरहेकी छिन् । उनले भर्खर आमा भएका महिलाहरूलाई आफ्नो शिशुलाई के खुवाउने भन्ने जानकारी दिन विभिन्न रङका दाना प्रयोग गरेर ब्रेसलेट बनाएकी छिन् ।

‘न्युट्रिबड्स’ नाम दिइएको त्यो ब्रेसलेटले नयाँ आमाहरूलाई शिशुको पोषणका बारेमा जानकारी दिएर कुपोषणका कारण हुने शिशु मृत्यु कम गर्न उल्लेखनीय सहयोग गरेको छ । ‘न्युट्रिबिड्स’को प्रभावकारिता देखेर युनेस्को मलाला फन्डले उनको परियोजनालाई आर्थिक सहयोगसमेत दिएको छ ।

बोनिताले २०१७ बाट सोसियल चेन्जमेकर एन्ड इन्नोभेटर नामको संस्था स्थापना गरेर त्यसैमार्फत काम गर्दै आएकी छिन् । आफ्नी आमाबाट प्रेरित भएको बताउने बोनिताले स्वास्थ्य र पोषणयुक्त आहाराको सुनिश्चितता गर्दै गुणस्तरीय शिक्षामार्फत महिला सशक्तिकरणमा योगदान र्पुयाउँदै आएकी छिन् । उनकी आमाले एसएलसी दिएपछि विवाह गरेकी थिइन् । त्यतिबेला नेपाली समाजमा विवाहपछि महिलाले पढ्ने होइन, घरधन्दा सम्हाल्नुपर्ने चलन थियो ।

तर, बोनिताकी आमाले सामाजिक व्यवस्थाविरुद्ध गएर अनेक अवरोध र आलोचनाका बाबजुद उच्च शिक्षा हासिल गरिन् । आमाको शिक्षाप्रतिको लगाव र शिक्षाले महिलालाई प्रदान गर्ने आत्मविश्वासका कारण उनी निरन्तर किशोरी तथा महिलाहरूलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा पोषणसम्बन्धी ज्ञान दिइरहेकी छिन् ।

Featured