विदेश

सिरियामा टर्कीको सैन्य कारबाही, चीन र पाकिस्तानबीच मतभेद

काठमाडौं, असोज २९–आफ्नो मित्रता ‘हिमालयभन्दा अग्लो’ बताउने चीन र पाकिस्तानबीच उत्तरी सिरियामा कुर्द लडाकुविरूद्ध टर्कीको सैन्य कारबाहीलाई लिएर मतभेद बढेको छ । चीनले टर्कीलाई सैन्य अभियान रोक्न आग्रह गर्दा पाकिस्तानले भने यसको समर्थन गरेको छ । भारतीय अनलाइन न्युज एटिनका अनुसार टर्कीले गत साता ‘सिरियको कुर्दिस पिपुल्स प्रोटेक्सन युनिट्स’ ९वाईपीजी० विरूद्ध सैन्य कारबाही सुरू गरेको थियो । संयुक्त राष्ट्रका अनुसार अभियानमा अहिलेसम्म दर्जनौं सर्वसाधारण मारिएका छन् भने कम्तीमा ६० हजार मानिस पलायन भएका छन् ।

चीनले मंगलबारै टर्कीलाई उत्तरी सिरियामा जारी सैन्य कारबाही रोक्न भनेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले एक नियमित पत्रकार सम्मेलनमा भने, ‘सिरियाको सम्प्रभुता, स्वतन्त्रता, एकीकरण र क्षेत्रीय अखण्डताको सम्मान गरिनुपर्छ ।’ टर्कीले आक्रमण जारी राख्दा आतंकवादी भाग्न सक्ने र इस्लामिक स्टेट पुनः सक्रिय हुन सक्ने उनले चेतावनी दिए ।

पाकिस्तानले उत्तरी सिरियामा टर्कीले गरेको सैन्य कारबाहीलाई समर्थन गरेको छ । टर्कीका राष्ट्रपति रजब तैयब एर्दोआनले यसै महिनाको अन्तिमतिर पाकिस्तान भ्रमण गर्न सक्छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको कार्यालयले प्रधानमन्त्रीले शुक्रबार एर्दोआनसँग कुरा गरेर टर्कीको कारबाहीप्रति पाकिस्तानले समर्थन गरेको बताएको छ । टर्कीले गरेको सैन्य कारबाहीको मुद्दामा चीन र भारतको समान धारणा छ । भारतले गत साता उत्तरी सिरियामा टर्कीको सैन्य कारबाहीप्रति चिन्ता व्यक्त गर्दै यसलाई एकतर्फी बताएको थियो ।

Featured